काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको दावी गरेको छ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रस्ट्याएका हुन्।
काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरूलाई औपचारिक जानकारी नआएको बताए। अध्यक्ष श्रेष्ठले पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैँले सोच्नुपर्ने प्रतिक्रियासमेत दिए।
उनले भने, ‘उहाँहरूको हिजोका अनुभवको आधारमा समेत उहाँहरूले आफ्नो विचारहरू दिनुभएको छ। त्यो विचारअनुसार त्यसको अवलम्बन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ। उहाँले सोच्नुपर्ने हो। हामीले त्यो फोरमको, पूर्वन्यायाधीशहरूको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आइसकेको छैन। हामी फरमल्ली त्यो अध्ययन गर्छौं। र, त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन। राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं।’
अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैँले भोग्नुपर्ने अवस्था आएको तर्क गरे।
उनले न्यायालयको शुद्धीकरणका लागि आफूहरूले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ हुन नसकेको गुनासो गरे। अध्यक्ष श्रेष्ठले न्यायालयमा बिचौलिया प्रवेशमा रोक लगाउन आफूहरूले सुझाव दिँदै आएको पनि स्मरण गराए।


















