काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान बेलायत जाने भएका छन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ। जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहने बताइएको छ।
प्रधानमन्त्रीको विदेश भ्रमणमा क्रममा परराष्ट्र सल्लाहकार पनि सँगै जाने परम्परा थियो। देउवाले परराष्ट्र सल्लाहकारमा कसैलाई नियुक्ति हालसम्म गरेका छैनन्। जलवायु परिवर्तन सम्बन्धी समिटलाई ध्यानमा राखेर तत्काल परराष्ट्र सल्लाहकार नियुक्त गर्ने सम्भावना नरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। शुक्रबार बिहान देउवा त्यसतर्फ उड्ने भएकाले परराष्ट्र सल्लाहकारको नियुक्तिको लागि देउवाले हतार नगर्ने भएका छन्।
देउवाको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव संलग्न हुने भएका छन्। उक्त टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कँडेल परेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की पनि प्रधानमन्त्रीको टोलीमा सहभागी हुने भएका छन्। वन मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी विभागका प्रमुख पनि टोलीमा पर्ने जनाइएको छ।
परराष्ट्रका प्रोटोकल चिफ र प्रोटोकल शाखाकै अर्का एक गरी दुई जना उक्त प्रतिनिधिमण्डलमा पर्ने भएका छन्। प्रधानमन्त्रीको सुरक्षामा खटिन ६ जना सुरक्षाकर्मी उनीसँगै जाने भएका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले १८ देखि २० जनाको प्रतिनिधिमण्डल हुने जानकारी दिइन्। प्रधानमन्त्रीसहित बेलायत जाने टोलीको अन्तिम सूची शुक्रबार प्रकाशित गरिने उनले जानकारी गराइन्।
शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ। जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने भएका छन्। जलवायु परिवर्तन सम्बन्धी समिटमा देउवाले दुई दिन भाग लिने भएका छन्। नोभेम्बर १ र २ तारिखमा देउवा ग्लास्गोमा रहने भएका छन्।
कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले बेलायतमा उनको स्वागतमा कार्यक्रम गर्ने भएको छ। कांग्रेस कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका बनेको छ।


















