बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्दै

133

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री लागि आज दिउँसो ३ बजेसम्मको समय तोकेर दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए।

सरकार गठनका लागि आह्वान भएसँगै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले बुधबार नै मुख्यमन्त्रीका लागि ५९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। गठबन्धनका तर्फबाट दाबी पेस भएसँगै अन्यको दाबी पर्ने सम्भावना छैन।

बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ। तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवामा विजयी प्रेमबहादुर तामाङसहित गठबन्धनको पक्षमा ५९ सांसदले हस्ताक्षर गरेका हुन्। हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन्।

३ सांसद रहेको विवेकशील साझा पार्टीले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको छैन। २/२ सांसद रहेका नेपाल मजदुर किसान पार्टी र राप्रपाले पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेनन्। ४३ सांसद रहेको एमाले प्रमुख प्रतिपक्ष हुने भएको छ।

बिहीबार नै मुख्यमन्त्रीमा पाण्डेसहित गठबन्धनका दलबाट १/१ जनाले मन्त्रीको शपथ लिने जनाइएको छ। सरकारमा दाबी गर्नका लागि तोकिएको समय सकिए लगत्तै शपथको तयारी गरिएको छ।

पहिलो चरणमा मन्त्री बन्नेमा कांग्रेसबाट कृष्णलाल भँडेलको सम्भावना सर्वाधिक रहेको बताइएको छ। भक्तपुर १ ‘क’को उपनिर्वाचनमा भँडेलले तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गरेका थिए। माओवादी केन्द्रबाट कुमारी मोक्तानको नाम मन्त्रीको चर्चामा छ। मकवानपुर २ ‘ख’ बाट उनी गत निर्वाचनमा विजयी भएकी थिइन्। नेकपाको सरकार हुँदा उनको नाम मन्त्री बन्ने चर्चामा थियो। माओवादीका राजकाजी महर्जन र विशाल खड्काको नाम पनि मन्त्रीको चर्चामा छन्।

एकीकृत समाजवादीबाट पहिलो चरणमा मन्त्री हुनेमा कृष्णप्रसाद शर्मा खनालको नाम अघि आएको छ। खनाल एकीकृत समाजवादीका चितवनका नेता समेत हुन्। एक/एक जनाले शपथ लिने बताइएपनि मन्त्रालय भने टुंगो लागेको छैन।

माओवादी केन्द्रकी प्रदेश सभा सदस्य मोक्तानले दलका नेताले आफूलाई मन्त्री बन्न तयार रहन भनेको बताइन्।  प्रदेश सभा सदस्य भडेलले कांग्रेसबाट मन्त्री बन्नेमा आफ्नो नाम आएको बताए। उनले आजै साढे तीन बजेसम्म शपथ हुने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here