चितवन । चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५१ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकानुसार गएको साउनदेखि असोजसम्मको अवधिमा ४२ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । तीमध्ये २४ पुरुष, १७ महिला र एक बालक थिए । यस्तै, यो अवधिमा विष सेवन गरी नौजनाले आत्महत्या गरे । विष सेवन गरी आत्महत्या गर्नेमा ६ पुरुष र तीन महिला थिए ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका समाजशास्त्र तथा मानवशास्त्रका विभागीय प्रमुख केशवराज सापकोटा भन्छन्, “आत्महत्या भनेको कमिटेड क्राइम हो । व्यक्तिले आत्महत्या गर्दा या गरेपछिको नतिजा केही हेर्दैन । उसले म जसरी पनि मर्छु नै भन्छ ।” विभिन्न कारणले आत्महत्याका घटना हुने गरेको उनले बताए ।
तथ्यांकानुसार चितवनमा सबै घटना, दुर्घटनामा परी तीन महिनामा १७० जनाले ज्यान गुमाएका छन् । त्यसमा पुरुषको संख्या बढी छ ।


















