प्रधानमन्त्री देउवा कोप–२६ पक्षको २६ औँ सम्मेलनको आज बेलायत जाँदै

101

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित आज बेलायत  प्रस्थान गरेका छन्।

देउवा शुक्रबार बिहान १० बजे कतार एयरको उडानबाट लण्डन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

देउवा नेतृत्वको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीसमेत ग्लास्गाे जाँदै छन्।

त्यस्तै भ्रमण टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट रहेका छन्।

यसैगरी भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै प्रस्थान गरेको हाे ।

यसभन्दा बाहेकका अरु सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गाे सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुँदै छ। देउवा नोभेम्बर १ र २ मा उक्त सम्मेलनमा सहभागी हुनेछन्।

त्यसपछि अन्य विभिन्न भेटघाट कार्यक्रम सक्काएर कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लन्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अक्टोबर ३१ मा प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। उनले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसदका सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन्।

त्यस्तै प्रधानमन्त्री देउवाले ग्लास्गाेमै भारतीय समकक्षी नरेन्द्र माेदीलाई भेट्ने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here