टोक्योबाट १२०० किलोमिटर दक्षिण प्रशान्त महासागरमा रहेको इयो जिमा द्विपनजिकै दोस्रो विश्वयुद्धका २४ युद्धपोत देखिएका छन् । यी समुद्रभित्र डुबेका थिए । तर, फुकुतोकु ओकानोबा ज्वालामुखी विष्फोट र भूकम्पका कारण यी जहाजहरु बाहिर निस्किएका हुन् । यीमध्ये कैयौं जहाज द्विपको तटनजिकै बग्दै आएका थिए ।
दोस्रो विश्वयुद्धमा यो स्थानमा भएको युद्धलाई ब्याटल अफ इयो जिमा भनिन्छ । १९४५ मा भएको भयानक युद्धमा अमेरिकी सेनाले यहाँ कैयौं जहाज डुबाइदिएको थियो । यहाँ ७० हजार अमेरिकी मरिनले २० हजार जापानी सैनिकसँग युद्ध गरेका थिए । यो युद्धको अन्त्यसम्म २० हजार अमेरिकी मरिन घाइते भएका थिए । करिब ७ हजार मरिन मारिएका थिए । जापानी सैनिकमध्ये केवल २१६ जना सैनिक मात्र बचेका थिए ।
अहिले पानीबाट बाहिर निस्किएका जहाजहरुमध्ये धेरैजसो ढुवानी गर्ने जहाज छन् । यी जहाजलाई पहिले अमेरिकी नौसेनाले जफत गरेको थियो । अमेरिकी नेशनल आर्काइभका अनुसार पछि अमेरिकी सैनिकले यी जहाजलाई बम पड्काएर डुबाइदिएका थिए । इयो जिमामा कुनै बन्दरगाह थिएन त्यसैले जहाज द्विपको समानान्तर डुब्दै समुद्रभित्र गएका थिए । यी जहाजबाट समुद्रभित्र भित्तोजस्तो बनेको थियो जसले तीब्र छालहरुबाट द्विपलाई बचाइरहेको थियो ।


















