नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन्। उनले भने, ‘यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र हो।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा (तामाङ)द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा महतले सरकारले खोपको व्यवस्था गरेकाले नै देशमा महामारीको प्रभाव घटेको, उद्योग व्यवसाय सञ्चालन गर्न सकिएको बताउँदै महामारी पीडित व्यवसायीलाई सरकारले पुनःस्थापना प्याकेज ल्याएको बताए।
अघिल्लो सरकारका समयमा महामारीबाट नागरिकलाई बचाउन स्पष्ट नीति र कार्यक्रम नभएको, भ्रष्टाचार मौलाएको र निर्वाचनका समयमा नागरिक सरकारसँग गरेका वाचाअनुसार सरकारले काम गर्न नसकेको उनको आरोप छ। RSS

















