भारतले सुस्तामा १४ सय हेक्टर नेपाली जमिन मिचेकोप्रति १३ संगठनले गरे विरोध

98

काठमाडौं । नेपालीहरुले चाडबाड मनाइरहेको समय पारेर भारतले नेपालको सुस्ता क्षेत्रमा १४ सय हेक्टर नेपाली जमिन मिचेको भन्दै विभिन्न १३ संगठनहरुले विरोध गरेका छन् ।

  नेपाल कम्युनिष्ट पार्टी निकट ती संगठनहरुले भारतले नेपालको डुबानमा रहेको नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय प्रहरीको फौज पसि नापजाँच र हस्तक्षेप गरेको भन्दै विज्ञप्ति मार्फत विरोध जनाएका हुन् ।

भोलि कात्तिक २३ गते संघीय राजधानी काठमाडौंको माइतिघरमा भारतको सो कार्यको विरोध प्रदर्शन गरिने पनि ती जनसंगठनहरुले बताएका छन् ।

 ती जनसंगठनहरुले जारी विज्ञप्तिमा भनेका छन्,‘नेपालीहरुले चाडपर्व मनाइरहेको बेला भारतीय प्रहरी फोर्सले नेपालको जमिन सुस्ताको डुबान क्षेत्रको १४ सय हेक्टरभित्र आफ्ना जवानहरु तैनाथ गरेको, नापजाँच र हस्तक्षेप गरेकोप्रति नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुको गम्भीर धानाकर्षण भएको छ ।

यो हाम्रो राष्ट्रियता माथिको हस्तक्षेप भएकाले यस हर्कतको घोर भत्सर्ना गर्दछौं, साथै भारतलाई यो हर्कत नगर्न चेतावनी दिंदै यो संयुक्त विज्ञप्ति जारी गरेका छौं ।’  भारतले गरेको सो कार्यको विरोध गर्न भोलि दिउसो २ बजे काठमाडौंको माइती घरमा प्रदर्शन गर्ने पनि ती संगठनहरुले बताएका छन् । नेपाली राष्ट्रियतामाथि भारतबाट हुने यस्ता हर्कतको विरोध स्वरुप गरिने प्रदर्शनमा सहभागी हुन अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रिय अध्यक्ष बन्धु चन्दले सबैलाई आव्हान गरिन् ।

जारी विज्ञप्तिमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिकाप्रसाद कंडेल, जनगणतान्त्रिक सम्पर्क मंचका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका संयोजक व्यापक नेपाली र जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here