नेपालले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने

107

काठमाडौं । सरकारले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याएर इन्टरनेट ल्याउने प्रक्रिया तत्कालै अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक समिक्षाको क्रममा प्राधिकरणलाई यो परियोजना उच्च प्राथामिकतामा राख्दै तत्काल प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिइएको हो । समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने परियोजना लामो समयदेखि चर्चामा छ । तर, यसकाे कुनै परिणाम नआएसँगै बैठकले यसलाई तत्कालै अघि बढाउन निर्देशन दिएको हो ।

सस्तोमा इन्टरनेट ब्याण्डविथ भित्र्याउने उद्देश्यका साथ नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो परियोजना अघि बढाएको थियो । यसका लागि प्राधिकरणले चालु आवमा ३० करोड बजेट छुट्याएको छ । भने, अध्ययनको काम अन्तिम चरणमा रहेको समेत जनाइएको छ । उक्त अध्ययनपछि ‘टीओआर’ तयार पारी बोलपत्र आह्वान गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

विश्व दूरसञ्चार संघ (आईटीयू) को नीति अनुसार नजिकको समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर पहुँच बनाउन पाउनु नेपालको अधिकारको विषय समेत हो । जसमार्फत समुद्री सतहसम्म नेपालको आफ्नै अप्टिकल फाइबर पहुँच स्थापित हुने र त्यसबाट आयात हुने इन्टरनेट ब्याण्डविथ सुलभ रुपमा प्राप्त हुने अपेक्षा गरिएको छ ।

हालसम्म यस किसिमको पहुँच बन्न नसक्दा भारत र चीनमा रहेका क्यारियरमार्फत नेपालका नेटवर्क सेवाप्रदायकले महंगोमा इन्टरनेट ब्याण्डविथ खरिद गर्नुपर्ने बाध्यता छ । जसले गर्दा नेपाली प्रयोगकर्ताले प्राप्त गर्ने इन्टरनेट समेत महंगाे हुन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here