काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले बुधबार पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम सुरु गरेका छन्।
विगत केही दिनदेखि नेपाल बारका पदाधिकारीसहितका कानुन व्यवसायीले अदालत गेटमा धर्नाका साथै विरोधका विविध कार्यक्रम गरिरहेका छन्। साढे ९ देखि साढे ११ बजेसम्म सर्वोच्चको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम तय भएको नेपाल बार एसोसिएसनले जनाएको छ।
प्रधानन्यायाधीश राणाला सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरेपछि प्रधानन्यायाधीश जबरा भने महान्याधिवक्ताको कार्यालयतर्फबाट अदालत प्रवेश गरेका थिए। प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आएका छन् ।
मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशले मुद्दा हेरेका छन्। नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको सन्दर्भमा प्रधानन्यायाधीश जबराले भने आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन्।

















