गणकहरुलाई सहयोग गरिदिन तथ्याङ्क विभागकाे आग्रह

88

काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले  जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ ।

सहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासाे गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग गरिदिन अनुरोध गरेको हो । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले आउँदो ९ गतेसम्म गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले गणकहरुलाई सहयोग गरिदिन अनुरोध गर्नु भएको हो ।

उहाँकाअनुसार अहिलेसम्म हिमाली र पहाडी जिल्लामा ८० देखि ९० प्रतिशतसम्म गणनाको काम सकिएको छ । सहरी तथा तराई र मधेशको भने जानकारी आउन बाँकी रहेको विभागले जनाएको छ । विभागकका अनुसार दार्चुलाको तिङ्कर र छाङरुमा पनि जनगणना भएको छ । जनगणनाका लागि गणकको टोली नेपाली बाटो हुँदै तिङ्कर र छाङरु पुगेका हुन् ।

केन्द्रीय तथ्याङ्क विभागमा तिङ्कर र छाङरुमा ११७ घरधुरी रहेको जानकारी आएको छ । चिसोको मौसम सुरु भएसँगै त्यहाँका केही बासिन्दा सदरमुकाम खलङ्गा झरेकाले उनीहरुको गणना हुन बाँकी छ । गणकहरुले सदरमुकाममै फर्किएर उनीहरुको गणना गर्ने तयारी गरेका छन् ।

भारतले उसको बाटो प्रयोग गर्न नदिए पनि गणकहरु जोखिमयुक्त नेपाली बाटो हुँदै दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर पुगेका हुन् ।

 यस्तै, राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकलाई  सुविधा सम्पन्न भनिएकै काठमाण्डौ सहरमा तथ्याङ्क सङ्कलन गर्न सकस भएको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका केही बासिन्दाले तथ्याङ्क सङ्कलनमा सहयोग नगरेको गणकहरुको गुनासो छ । काठमाण्डौ उपत्यकाको जनगणनाका लागि अहिले झण्डै चार हजार गणक खटिएका छन्  ।

उनीहरुमध्ये केहीले उपत्यकामा तथ्याङ्क सङ्कलन गर्न नै समस्या भएको बताएका छन् । गणनाका लागि घर घरमा पुगेका गणकहरुलाई गेट नखोलिदिने, भाडामा बसेकाहरुको विवरण दिन नमान्ने तथा घरको मुख्य मान्छे बाहेक अरु नबोल्ने गरेका जस्ता गुनासा आएका केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

गाउँगाउँमा खटिएका गणकहरुको अनुभव भने सहरको भन्दा ठ्याक्कै उल्टो छ । गणकहरुले गाउँगाउँमा स्वच्छ वातावरणसँगै गाउँका नागरिकको सम्मान र सत्कार पाएको अनुभव सुनाएका विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो ।

अहिले रेग्मीसहितको अनुगमन टोलीले ठाउँठाउँमा खटिएका गणकहरुसँग अन्तरक्रिया गर्ने र अनुभव सुन्ने गरेको छ ।  अन्तरक्रियामा गणकहरुले केही ठाउँमा तथ्याङ्क सङ्कलनमा सकस भोगेको र धेरै ठाउँमा सजिलै भएको बताएका रेग्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here