काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् ।
पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतहनजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् ।
पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने जनाए । उनले भारतमा हरेक वर्ष औसत चार वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने जनाए ।
जलवायु विज्ञ डा.उप्रेतीले भने, ‘ पश्चिमी वायुको प्रकोप नेपालमा जहिल्यै देखिन्छ, यो उच्च हिमाली क्षेत्रमा धेरै असरदार साबित हुन्छ, काठमाडौंजस्तो उपत्यकामा हावाले ठेल्न सक्दैन, जसकारण असर धेरै समयसम्म रहिरहन्छ । यसले मानिसको स्वास्थ्यमा धेरै असर गर्दछ ।’
यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने जनाए ।
संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्न सक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउन लाग्ने बताए । भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरू प्राधिकरणले पूरा गर्ने जनाए ।
प्रवक्ता भट्टराईले भने, ‘शीतलहरको होस् वा मनसुनजन्य कुराहरूको होस्, कार्यान्वयन गर्ने मुल जिम्मेवारी, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमै छ । केन्द्रले सिँधै स्थानीय तह, जिल्लासँग समन्वय नगर्ने भन्ने कुरा होइन । हामी त्यति धेरै राहत दिन नसक्ने अवस्थामा छैनौँ । आवश्यक्ता परे हरेक किसिमका कदममा राहत उपलब्ध गराउन सक्छौँ ।’
प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैँ पूर्वसूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौती रहेको बताए । उनले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरूलाई गम्भीरताका साथ लिएर मात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको जनाए ।


















