काठमाडौं । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहमा कार्यरत कर्मचारी एक स्थानीय तहमा कार्यरत अर्को तहमा पहिलो पटक सरुवा हुन लागेका छन्।
तिनीहरूको सरुवा गर्न मन्त्रालयले निर्णय गरिसकेको छ। मन्त्रालयले तत्कालै सरुवा सूची सार्वजनिक गर्ने जनाएको छ। यसको लागि सबै काम पूरा भएको बताइएको छ।
एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा हुन अनलाइनबाट निवेदन दिएका कर्मचारीहरूमध्ये करिब एक हजार ६ सय कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले सहमति दिएको हो।
यसबारेमा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी दोहोरो सहमति लिएका कर्मचारीको सरुवाको विषयमा जानकारी गराएको छ। सरकारले गत वर्ष दोहोरो सहमति लिएमा स्थानीय तहमा कार्यरत कर्मचारी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्न सक्ने गरी कार्यविधि बनाएको थियो।
कार्यविधि बनेपछि मन्त्रालयले दोहोरो सहमति लिएर गत वैशाख १ देखि २० गतेसम्म अनलाइन फाराम भर्न कर्मचारीहरूलाई आह्वान गरेको थियो। त्यस क्रममा झण्डै २ हजार ५ सय कर्मचारीहरूले अनलाइन फाराम भरेका थिए। दोहोरो सहमतिमा कर्मचारी लिन चाहने स्थानीय तहले ‘यो कर्मचारी लिँदा हामीलाई सेवा प्रवाहमा फाइदा पुग्नेछ’ भनी सहमति दिनुपर्ने तथा कर्मचारी पठाउने स्थानीय तहले ‘यो कर्मचारीलाई पठाउँदा सेवा प्रवाहमा असर पुग्दैन भनी’ स्विकृति जनाउनु पर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। नागरिक दैनिकबाट


















