काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गरेका हुन् ।
राम र सीताको विवाहको उत्सव मनाउन रामजानकी मन्दिरमा सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने र उनीहरुको कीर्तिको गुणगान गर्दै साताव्यापी विविध धार्मिक कार्यक्रम गर्ने प्रचलन छ । कोभिड–१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।
सांस्कृतिक महत्व बोकेको यस ऐतिहासिक महान् पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र राष्ट्रिय एकताको भावना अभिवृद्धिमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

















