आँधीका कारण फिलिपिन्समा हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियाे

117

काठमाडौं । फिलिपिन्समा तीव्र रुपमा विकसित हुँदै गइरहेको राई नामक आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

शक्तिशाली बन्दै गएको उक्त आँधी जमीनमा ठोक्किनुपूर्व नै मध्य तथा दक्षिणी फिलिपिन्सका हजारौं मानिसलाई घरबाट अन्यत्र सारिएको हो । बिहीबार बिहानसम्म भिसायास द्वीप समूहमा पर्ने पूर्वी प्रान्त समारबाट झण्डै ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

भिसायासका अन्य पूर्वी क्षेत्रबाट १७ हजारभन्दा मानिसलाई समेत अन्यत्र सारिएको अलजजिराले जनाएको छ । यसअघि २०१३ मा आएको हायन आँधीमा समार र लेयटे प्रान्त सबैभन्दा प्रभावित बनेका थिए जहाँ हजारौं मानिसको मृत्यु भएको थियो ।

त्यस्तै, मिन्डानाओको सुरिगाओबाट ५१ हजार मानिसलाई अन्यत्र सारिएको छ । बुधबार आपतकालीन सहायताकर्ताले दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई १८ वटा अस्थायी आश्रममा राखेका थिए ।फिलिपिन्सको मौसम ब्यूरोले बिहीबार बिहान जारी गरेको विवरणअनुसार राई आँधी तीव्र रुपमा विकसित भइरहेको छ । तीव्र रुपमा विकसित भइरहेको आँधी मध्य क्षेत्रका दिनागत र सुरिगाओ प्रान्ततर्फ बढिरहेको ब्यूरोको धारणा छ ।

राई आँधी प्रतिघण्टा १८५ किलोमिटरको गतिले पश्चिम र उत्तरपश्चिम दिशातर्फ बढिरहेको भन्दै कुनै-कुनै क्षेत्रमा विशानकारी रुप लिन सक्ने ब्युरोले बताएको छ । समुन्द्रको अवस्था सबैखाले जल यात्राका लागि जोखिमपूर्ण भएकाले नाविकहरूलाई बन्दरगाहमै बस्न वा सुरक्षित रहन पनि भनिएको छ ।

यसैबीच, अमेरिकी जलसेनाको जोइन्ट टाइफून वार्निङ सेन्टरले राई आँधीलाई ‘सुपर टाइफून’ अर्थात् प्रतिघण्टा १५० माइलको गतिमा निरन्तर आउने शक्तिशाली आँधी भनेको छ । बिहीबार दिउँसोसम्म राई आँधी जमीनमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । जमीनमा आँधी आउनुपूर्व नै फिलिपिन्सका ८ क्षेत्रमा विपत तम्तयारी तथा प्रतिकार्य मापदण्डलाई उच्च तहमा पुर्‍याइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here