सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ।
स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोर्डना खोप खोप केन्द्रमा पठाएको छ।
आइतबारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन अशिस्डेण्ड मानबहादुर रोकायाले जानकारी दिए।
खार्पुनाथ ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली एक हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए। खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई मोर्डना खोप एक साथ दिइने भएको छ।
जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ। जिल्लामा रहेका नौ हजार नौ सय चालीसमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि जिल्लामा ६हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले बताए।
जिल्लासदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ का सहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ। रासस


















