काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लबविरुद्ध हिमालयन शेर्पा क्लबले शानदार जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलविरुद्ध हिमालयनले ३-१ गोल अन्तरको जित निकालेको हो ।
हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई र सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाए । कमल थापाको लामो पासमा च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले सहजै गोल गर्न सफल भए ।
खेलको ५६ औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए । त्रिदेब गुरुङको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले आफ्नो कब्जामा लिन नसक्दा आएको रिबाउन्डमा मुटम्बाले पोस्टको जाली चुमाएका हुन् ।
७५ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २-१ को स्थितिमा ल्याए । पेनाल्टी एरियाभित्र राजिब लोप्चनले उपलब्ध गराएको पासमा अनमार्क रहेका रुमेशले गोल गरेका हुन् । तर, खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३-१ को जित दिलाए । उनले मनिष थापाको पासलाई सदुपयोग गरे ।
यो जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ । हिमालयन शेर्पापछि न्यू रोड टिम, थ्री स्टार, नेपाल पुलिस क्लब, ब्रिगेड ब्वायज, नेपाल एपीएफ क्लब, जावलाखेललगायत टिम रहेका छन् । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ । ऊ अंक तालिकाको १३ औं स्थानमा रहेको छ ।
हिमालयन शेर्पाको जितपछि यस्तो बन्यो अंक तालिका :



















