जनै फाल्ने खस अभियानको सूरुवात पूर्वको इलामबाट !

116

–चन्द्रप्रकाश बानियाँ

“चिताको आगोमा रोटी सेक्नु” भन्ने उखान नकारात्मक अर्थमा प्रयोग हुन्छ । मानिसमा विपरित मानसिकताको प्रभाव बाग्लै रहन्छ । गर्नुपर्ने काम गर्दैन । नगर्नुपर्ने कुरा भने गर्न अघि सरिहाल्छ । नजानुपर्ने ठाउँमा गइदिन्छ । नखानुपर्ने कुरा खाइदिन्छ । नबोल्नुपर्ने ठाउँमा बोलिदिन्छ । अरुले भनेको वा आफूले सुनेको कुराको उल्टो अर्थ लगाउँछ । नपत्याए गीताको एउटा चर्चित श्लोक “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः”लाई लिन सकिन्छ । गीताको रचनाकाल कहिले हो भन्ने कुराको एकिन छैन । इसाको पहिलो शताब्दी यताउता लेखिएको होला भनेर अनुमान गरिए पनि प्रमाण लाग्दैन ।

गीता कृष्णवचन हो भनेर दावी गरिन्छ र कृष्णको काल पाँच हजारवर्ष पूर्वंतिरको हो भन्ने कुरा मान्ने हो भने मानवजातिले धर्मको विकास गरिसकेको थियो भन्न सकिन्न । कमसेकम धर्मको मान्यता आजको जस्तो थिएन । कृष्णले “परधर्म” भनेर केलाई भने होलान् कुन्नी ? किनकि त्यतिखेर इस्लाम जन्मेको थिएन । क्रिश्चियानिटी पनि गर्भमै थियो । अहिले अनुमान गर्ने गरिएजस्तो हिन्दूइतर धर्मतिर उनको इशारा थियो होला भन्न सकिन्न । हुँदै नभएको विषयसँग तर्सनुपर्ने, परहेज गर्नुपर्ने कारण नै रहँदैन । गीताको भनाई वर्णधर्मको हो, लोकधर्मको होइन । अर्थात वर्णधर्म कडाईकासाथ पालन गर्नुपर्छ भन्ने अर्थमा गीतावचन आएको हो । परधर्म भनेर अर्को वर्णको लागि निश्चित गरिएको आचरण, व्यवहार र व्यवशायलाई इङ्गित गरिएको हो ।

जन्मका आधारमा वर्ण निश्चित हुने हुनाले जुन वर्णमा जन्म भएको हो त्यही धर्म पालना गर्नुपर्छ । फेर्न पाइदैपाइदैन भन्ने आशय गीताको हो । लडाईको नाममा इष्टमित्र आफन्त, नातागोता र दाजुभाईको हत्या गर्नुभन्दा सन्यासी बन्छु भन्ने अर्जुनलाई क्षत्रिय कुलमा जन्मेका हुनाले क्षात्रधर्मबाहेक यताउता गर्ने हक छैन भन्ने अर्थमा गीताज्ञान सुनाइएको हो । आजकाल त्यही श्लोक अघि सारेर धर्म जोगाउने कसरत गर्छन् पण्डितहरुले ।

प्रसङ्ग खस जाति र हिन्दू धर्मको हो । खसहरुको परम्परागत धर्म हिन्दू थिएन । तिब्बततिरबाट झरेका खसहरुले गङ्गाको मैदानतिर जन्मेको हिन्दू धर्म निकै पछि ग्रहण गरेका हुन् । त्यसअर्थमा खस जातिका लागि हिन्दू “परधर्म” हो । खसहरुले हिन्दू धर्मसंस्कार असल भनेर अवलम्बन गरेका पनि होइनन् । सुसंस्कृत भनाउने लोभ पनि थिएन । जनै लगाउँदा कुल, वंश र जात ठूलो मानिने सामाजिक मान्यताका कारणले धर्मान्तरणतिर मन गएको हो । समाजमा आर्य धर्मसंस्कृतिको प्रभाव विस्तार हुँदै जाँदा जनैले जात ठूलो, वंश राजसी, कर्म सम्मानजनक मानिने भएपछि जनै धारणा गरेर जात ठूलो बनाउन मन लाग्यो । जनै लगाए । क्षत्री बने । ठकुरी बने । लुकिचोरी कैयौं ब्राह्मण पनि बने होलान् ।

समय परिवर्तन हुँदै गयो । सामाजिक मान्यताहरु पनि फेरिदै आए । मानिस जन्मले ठूलो सानो नहुने भयो । नमानिने भयो । जात, वंश र कुलले मान्छेलाई ठूलो सानो नबनाउने भयो । जनै भिर्न पाउँदा कुल, वंश र जात ठूलो मानिने जमाना गयो । खसहरुले जुन कारणले हिन्दू धर्म ग्रहण गरेका थिए, व्रतबन्ध संस्कार गरेर जनै लगाउन थालेका थिए, त्यसको औचित्य समाप्त भयो । जात व्यवस्था अप्रसांगिक भएको मात्र होइन, हिन्दू समाज र धर्मको कलङ्क मानिने भयो । जनै जात परिचय हो । व्यवहारमा त्यस्तो कहिल्यै थिएन तापनि जन्मदा सबै शुद्र हुन्छन् भन्ने मान्यताको आधारमा जनै संस्कार गरिदिएर जात उचाल्ने प्रपञ्च हो – उपनयन संस्कार । जातको औचित्य समाप्त भैसक्यो भनेर मान्ने हो ाभने जात उकाल्ने संस्कारले के अर्थ राख्छ र ? जनैसंस्कारको औचित्य समाप्त भएको हो भने व्रतबन्धको नौटङ्कीको अब कुनै आवश्यकता छैन ।

खस समाजले जनै भिरेको ठूलो जातको लोभमा थियो । जात औचित्यहीन भएपछि जनैको औचित्य स्वतः समाप्त हुने नै भयो । जनै अर्थहीन भएपछि जनै संस्कार पनि अर्थहीन भयो । हिन्दू धर्म संस्कृति खसको आफ्नो थिएन । परधर्म भयावहः भन्ने गीतावचनको आजकाल गरिने अर्थ होस् वा वास्तविक अर्थ होस्, दुबैको औचित्य सकियो । अरुको धर्म अवलम्बन गर्नुभन्दा आफ्नै धर्मको लागि मर्नु राम्रो भन्ने हो भने हिन्दू धर्म परित्याग गर्नु राम्रो मान्नु प¥यो । होइन गीताको इशारा वर्णधर्मतिर हो भने पनि समाजले वर्णधर्मको मान्यता व्यवहारमा लत्याउन थालेको शताब्दीयौं बितिसकेको छ । न ब्राह्मणपुत्रहरुको जीवन दानदक्षिणाबाट चल्छ, न क्षत्रीको परिवार तरबारले पाल्छ । नेपालको मात्रै कुरा गर्ने हो भने नेपाली ब्राह्मणहरुको ठूलो संख्याले नोकरी गर्छ । त्यसको अर्थ आजका ब्राह्मणहरु अधिकांशलाई शुद्र मान्नुपर्ने हुन्छ । गुरु(शिक्षक) शुद्र र कार्यालय सहायक ब्राह्मण रहेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।

जयस्थिति मल्लले भिडाएको जनै नेवार समुदायका अमात्य, श्रेष्ठ र प्रधानहरुले एकपुस्ता पूरै पनि भिरेनन् । नेवारहरुले बरु जनै परित्याग गरे, आफ्नो परम्परा, संस्कार, संस्कृति छोड्न रुचाएनन् । विपी कोइरालाले जनै उहिल्यै फ्याँकेथे भनिन्छ । न कहिल्यै विपी जात घटुवामा परेथे, न नेवारहरुको जातमा प्रश्न उठेथ्यो । त्यसैले जनै भनेको भिर्न पनि मिल्ने, मनलाग्दा मिल्काउँदा पनि फरक नपर्ने विषय रहेछ भन्नुपर्छ । जनै भिरे पनि हुने, नभिरे पनि हुने भएपछि व्रतबन्ध गर्नुको पो के औचित्य रह्यो र ? खगेन्द्र संग्रौलाले व्रतबन्ध गरेकै होइनन् र पनि समाजले उनलाई जातिच्यूत गरेको छैन । सबैले उनलाई बाहुन नै मान्छन् । ब्राह्मणपुत्र आदिशंकराचार्यले नवौं शताब्दीमै जनैविद्रोह गरेका थिए । हजारौं होइन, लाखौंको संख्यामा उनका अनुयायीहरु हिन्दू समाजमा शानकासाथ उभिएकै छन् । कोइराला, संग्रौलाहरुको चेष्टा व्यक्तिगत थियो, शंकराचार्यको अभियान संस्थागत थियो । कोइराला र संग्रौलाहरु आलोचित भएपनि शंकराचार्यपन्थीहरुलाई जातफाला भन्ने हिम्मत धर्माधिकारीहरुले गर्न सकेनन् ।

इतिहास प्रमाणले खसजातिलाई एउटा अलग संस्कृति र गौरवशाली इतिहास भएको जाति प्रमाणित गरिदिएको छ । खसहरुको आफ्नै सभ्यता थियो, आफ्नै रीति परम्पराहरु थिए । मौलिक संस्कृति थियो । समय सन्दर्भले खसहरुलाई हिन्दू धर्म अवलम्बन गर्नुपर्ने अवस्थामा पु¥यायो होला । जसरी जुन कारणले ग्रहण गरेका भएपनि खस जातिका लागि हिन्दू धर्म पराईधर्म थियो । खसहरु हिन्दू धर्मसंस्कृतिमा रमेकै थिए । नयाँ संविधानका निर्माताहरुले खस जातिको अस्तित्व मेटाउने जालसाँजी गर्ने नादानी गरिदिए । जाति अस्तित्वको खोजी गर्दा स्वभावतः धर्म संस्कृतिको कुरा पनि उठ्यो । धर्मकै आडमा खस जातिको अस्तित्व नामेट गर्न खोजिएको हुनाले धर्मत्याग गरेरै भए पनि जाति जोगाउनुपर्ने खण्ड उपस्थित भयो । खासगरेर, पछिल्लो जनगणना–२०७८ को सन्दर्भमा खस समाजले जाति र धर्मलाई विशेषरुपमा लिनुपर्ने आवश्यकताबोध ग¥यो ।

जातिको खोजी भयो, खस परम्पराहरुको खोजी भयो, संस्कार संस्कृतिको खोजी भयो र धर्मको पनि खोजिपाँसुली गर्नुपर्ने भयो । खस जातिको अस्तित्व समाप्त पार्ने मुख्य कारण वर्णव्यवस्था रहेछ । हिन््दू धर्म रहेछ । हिन्दू धर्मले भिडाएको जनै रहेछ, गोत्र रहेछ । जाति संरक्षणमा बाधा बनेर उभिएका तत्तत कुराहरु मिल्काउनुपर्ने भयो । त्यसमध्ये सर्वप्रथम जनै मिल्काउ अभियान चलाउनुपर्ने आवश्यकताबोध खस समाजले ग¥यो । एक्लाएक्लै, आफूखुसी जनै चुडाल्ने त अनेकौं होलान् । जनै चुडाल्नेहरुले पनि विशेष अवसरमा जनै भिर्न विवश भएका उदाहरणहरु पनि देखिएका हुन् । जनैसंग जातिको सम्बन्ध तोड्नका लागि संस्थागत निर्णय हुनु जरुरी थियो । आजसम्म केही काम गरेका भए पनि नगरेका भए पनि खस जातिसंग सम्बन्धित दुर्इंतीनवटा संस्थाहरु अस्तित्वमा देखिएका थिए । तर संस्थागत निर्णय गरेरै जनै परित्याग गर्न सार्वजनिक आह्वान गर्ने अवस्थामा ती संस्थाहरु पुगेका थिएनन्, छैनन् ।

समयले कहिलेकहीँ घोडाभन्दा गाडालाई अगाडि कुदाउँदो रहेछ । त्यसको उदाहरण बन्नु भएको छ– इलामेली खसबन्धु श्री सूर्य बस्नेतजी ! बस्नेतजीका सुपुत्रको उमेर १२ वर्षमा चल्दैरहेछ । क्षत्रीपुत्रको जनै संस्कार १२ वर्षमा गर्नुपर्ने शास्त्रीय मान्यता छ भनिन्छ । घर परिवार, आफन्त, नातागोता र समाजले छोराको व्रतबन्ध गरिदिनु प¥यो भनेर दवाव दिन थालेछ । व्यक्तिगतरुपमा सूर्य बस्नेतजीले जनै संस्कारको औचित्य देख्नु हुँदो रहेनछ । व्रतबन्धको नौटङ्ी व्यर्थ होजस्तो लाग्दो रहेछ । तैपनि आफ्नो बुझाई समाज र परिवारलाई सम्झाउन गाह्रो परेको रहेछ । मनाउन सकस परेको रहेछ । समाजभन्दा पनि आफ्नै परिवारको अघिल्लो पुस्ताको चित्त बुझाउन मुश्किल भएको रहेछ । समाज र परिवारको दवाव भए पनि वाहियात परम्परा कतिञ्ज्याल बोकिरहने ? कसै न कसैले त हिम्मत गर्नुपर्छ । नयाँ परम्परा स्थापित गर्न आफै अघि किन नसर्ने भन्ने लागेपछि विश्व मष्ट धर्म महासंघ र खस एकता समाजसक्ष प्रस्ताव अघिसार्नु भएछ–

संस्थाका पदाधिकारी, अभिभावकहरु साँक्षी बसिदिने हो भने व्रतबन्धको साइत जुराईको दिनमा जनै संस्कारको परम्परागत औपचारिकता नगर्ने । वटुकलाई जनै नलगाइदिने, नाङ्गो बनाएर नघुमाउने, ब्राह्मण नबोलाउने, जग्गे नलगाउने, मन्त्र नसुनाउने, बरु बालकलाई अब किशोर वयमा पाइलो राख्यौै, सामाजिक दायित्व लिन योग्य भयौ भनेर टीका आशिर्वाद दिने, छोरा तन्नेरी भएको खुसियालीमा भोजभतेर गर्ने ।

कति राम्रो विचार ! जिर्ण परम्परा तोड्ने कति राम्रो जुक्तिँ । सर्प पनि मर्ने, लौरो पनि नभाँचिने । वेदाध्ययनको लागि घरबाट निस्कने नौटङ्कीको अर्को नाम व्रतबन्ध हो । न त्यसदिनदेखि वटुक गुरुकुलतिर लाग्छ न जीवनमा कहिल्यै वेदको मुख देख्छ । वेदको मन्त्रले कान फुकिदिने ब्राह्मण आफैले वेद पढेको हुदैन । नगरिने कामको नौटङ्की केका लागि गर्ने ? व्रतबन्ध गरेर पढाई लेखाइ सुरु गर्ने जमाना पुरानो भयो । आजकाल त ३÷४ वर्षको उमेरमै नेपालीहरुले केटाकेटी स्कूलमा पठाउँछन् । त्यस अर्थमा व्रतबन्धको औचित्य समाप्त भैसक्यो भन्नुपर्ने हुन्छ । जनैले दिने जात (वर्ण) हो । त्यो पनि जन्मको आधारमा स्वतः प्राप्त हुने भएपछि जनै संस्कारको औचित्य पूर्णरुपमा समाप्त भएकै थियो । पहिले नै प्राप्त भैसकेको जातवर्ण संस्कारको नविकरण गर्नुपर्ने आवश्यकता के छ र ?

जनै नलगाउने, व्रतबन्ध नगर्ने हो भने फेरि साइत हेराइवरी आशिर्वाद दिनकै लागि, तन्नेरी भइस् भन्नैका लागि केको समारोह, केको आयोजना, केको तामझाम चाहियो त ? हो, जनै नलागउने नै हो भने व्रतबन्ध समारोहको आयोजना गर्नु आवश्यक छैन । व्रतबन्धको आयोजना जनैको लागि हो । व्रतबन्ध भनेको बाहुनले जनै दिएर जात उकाल्ने व्यवस्था हो । वर्ण प्रमाणित गरिदिने चलन हो । तैपनि समाजलाई व्रतबन्ध किन गरिन्थ्यो र जनै अव किन आवश्यक छैन भनेर बुझाउनका लागि पनि त्यो आयोजना आवश्यक ठानिएको हो । अब उप्रान्त खसहरुले जनै लगाउँदैनन् रे भन्ने जानकारी बाँकी समाजलाई गराउने तरिका हो त्यो ।

जनै नलगाउने जात जातिहरुमा पनि छोरीलाई गुन्युचोलो दिने र छोराको छेवर गर्ने चलन छ । त्यो भनेको केटाकेटीको बालपन बित्यो, किशोर उमेरमा पदार्पण गरे भनेर सार्वजनिकरुपमा गरिने आत्मस्वीकृति हो । दलित, मगर, गुरुङ, थकाली समुदायमा पनि छेवार संस्कार गर्ने चलन छ । त्यो भनेको एउटा निश्चित उमेर पार गरेपछि गरिने संस्कार हो । छेवर सम्भवतः चिवरबाट आएको शब्द हो । बौद्ध भिक्षुहरुले धारण गर्ने पोशाकलाई चिवर भनिन्छ । छेवर गर्ने परम्परा भएका जातजातिहरु कुनै कालखण्डमा बुद्धमार्गी थिए होलान् । विशेष आयोजना गरेर किशोर किशोरीहरुलाई परिवज्र्य गराउने संस्कार होला चिवर दान गर्ने चलन । त्यही चिवर प्रदान गर्ने चलन छेवारमा बदलियो । खसहरुले व्रतबन्ध गर्न छोडेपछि, जनै लगाउन छोडेपछि, ब्राह्मणलाई गुरु थाप्न छोडेपछि, वर्ण व्यवस्था मान्न छोडेपछि, हिन्दू धर्मले भिडाएको क्षत्री जात माया मारेपछि, व्रतबन्धको रुपमा रहेको संस्कार छेवर अर्थात गुन्युचोलो  र दौरासुरुवाल पहि¥याउने पर्वमा रुपान्तरित नहोला भन्न सकिन्न ।

सूर्य बस्नेतजीले खस अभियन्ताहरुलाई नयाँ संस्कार स्थापना गर्ने आयोजनामा निम्तो दिएर राम्रो गर्नु भयो । आज बस्नेतजीले व्रतबन्धलाई नयाँ रुप दिनु भयो । भोलि कसैले नामसंस्कारको कुरो उठाउला, कसैले विहे कसरी गर्ने भन्ला, कसैले अन्तिम संस्कारको विधि के होला भनेर सोध्ला । यतिन्जेल कानमा तेल राखेर सुतेको खस अभियान खस रीति परम्पराको खोजी गर्ने, नयाँ परम्पराहरु निर्माण गर्नतिर तात्निु पर्ने हुने भो । नयाँ परम्पराहरुको सुरुवात गर्न खस अभियन्ताहरुलचाई वाध्य बनाउने, उत्प्रेरित गर्ने सूर्य बस्नेतजीको सुन्दर चेष्टा स्तुत्य छ, प्रशंसनीय छ, अनुकरणीय छ । त्यस्तै ठूलो छाती र दरो मुटु हुनेहरुले समाज बदल्छन् । समाजलाई नयाँ गन्तव्यतर्फ डो¥याउँछन् । व्यक्तिगतरुपमा चिनाजानी नभए पनि बस्नेतजीको व्यक्तित्व दर्शनीय बनेको छ । सलाम बस्नेतजी, हजार सलाम ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here