काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशन अन्तर्गत सभापतिको पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको जनाएका छन्।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रम सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताए।
पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेटअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनको भनाइ थियो।
‘दुईटा अजेन्डा बोकेर म यस पटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो। त्यो अजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘पहिलो राउन्डको म्यान्डेटले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि।’
उनले पहिलो चरणको निर्वाचनको म्यान्डेट मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैले त्यो मान्डेट मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने।
उनले आफू गणेशमानपुत्र भएकै कारणमात्रै राजनीतिमा नआएको पनि प्रष्ट्याए। तल्लो तहदेखि नै आफू संघर्ष गरेर कांग्रेसको राजनीतिमा स्थापित हुँदै आएको सिंहको जिकिर थियो।
आफूले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि पार्टीभित्र आफ्नो स्वार्थ पूरा नभएपछि एक थरीले नियोजित रुपमा आफूमाथि अनावश्यक प्रहार गरेर चरित्र हत्याको प्रयास भइरहेको उनले बताए।
‘उनीहरुले चाहे जस्तो गरे प्रकाशमान ठिक, उनीहरुका इच्छा बिपरित उभिँदा प्रकाशमान सिंहले अपराध नै गरे जस्तो गरी प्रचारप्रसार भयो’ उनले भने।
‘थाहा हुनुपर्यो, संगठन गर्दा सजिलो छ? नेताको छोरा भनेर पैसा कमाउनसम्म कमाएर म फलानो भनेर उभिन आएको छौं हामीहरु?,’ उनले प्रश्न गरे, ‘हामी ग्रासरुटदेखि नै जेल गएर आएको हो। पार्टीमा त्यसै लागेको हो? अर्काका मिहिनेतमा टुप्पक नेता बन्न आएका हौं र हामीहरु?’ नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गरे।


















