कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द

110

काठमाडौं ।  कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द गरिएको छ।

शंखरापुर नगरपालिकाले मेला सञ्चालन गर्न खोजे पनि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बन्द गर्न निर्देशन दिएपछि माधवनारायण स्वस्थानी मेलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हो।

शालीनदी मेला व्यवस्थापन मूल समन्वय समितिको बुधबार बिहान बसेको बैठकले मेला सर्वसाधारणको उपस्थितिमा रोक लगाउने निर्णग गरेको कोशंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए।

नेपालमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिरहेको र माघ ३ गतेदेखि शंखरापुर नगरपालिकास्थित साँखुमा जारी माधवनारायण स्वस्थानी व्रतमा देशका विभिन्न स्थानदेखि श्रद्धालु भक्तजनहरु शालीनदी क्षेत्रमा दर्शन गर्न आउँदा सम्भावित भीडभाड बढ्न सक्ने र कोभिड १९ संक्रमणको जोखिम बढ्न सक्ने भन्दै मूल समितिले व्रतालुबाहेक सर्वसाधारणलाई सहभागी हुन नदिने निर्णय गरेको हो।

माधवनारायण स्वस्थानी व्रत शालीनदी मेला बन्द गरिएको हुँदा सबै भक्तजनहरुलाई यस पटक शालीनदी भ्रमण नगर्न प्रमुख श्रेष्ठले अनुरोधसमेत गरेका छन्।

उनका अनुसार माधवनारायण स्वस्थानी व्रत लिने व्रतालु भक्तजनहरुको विशेष सुरक्षाको लागि कोभिङ १९ का सम्पूर्ण सुरक्षाका मापदण्डहरु अपनाउन श्री माधवनाराययण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिलाई विशेष व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ।

त्यस्तै सम्पूर्ण शंखरापुर नगरवासी तथा नेपाली नागरिकहरुलाई कोभिड १९ बाट बच्न र बचाउन अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने तथा भौतिक दुरी कायम गर्ने जस्ता सुरक्षाका मापदण्डहरु अपनाउनसमेत प्रमुख श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर अनुरोध गरेका छन्।

यस शालीनदी क्षेत्र वा अन्य सार्वजनिक क्षेत्रमा मास्क नलगाई आवतजावत गर्ने वा व्यापार व्यवसाय गर्ने कुनै पनि व्यक्तिलाई नियमानुसार जरिवाना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here