काठमाडौं–कालापत्थर पदयात्रा हुँदै

325

काठमाडौं ।  जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित २७ महिलाले काठमाडौंदेखि कालापत्थरसम्म झण्डै १२ दिनको पदयात्रा गर्न लागेका हुन। ‘साथसाथै’ नामक संस्थाको संयोजनमा हुन लागेको सो पदयात्राको मुख्य उद्देश्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले परेको असर विश्वसामु उजागर गर्न र त्यसले महिलामा उत्पन्न गरेको समस्याको न्यायका लागि वकालत गर्ने रहेको छ।

समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्ने र त्यहीँबाट जलवायु परिवर्तनका असरले महिलामा पारेका असरको उजागर गर्ने तथा त्यस्ता मुद्दाको राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षण गराइने ‘साथसाथै’ का कार्यक्रम संयोजक प्रजिता कार्कीले जानकारी दिइन्।

स्थानीय महिलासँग सहकार्य गर्ने र कालापत्थरको उचाइबाट जलवायु परिवर्तन प्रभावित महिलाको आवाज उठाएर विश्वलाई सन्देश दिने अयिभानको उद्देश्य रहेको उनले बताइन्।

प्रकृतिसँग घुलमिल हुँदै आन्तरिक पर्यटन प्रवर्धनका लागि अरुलाई पनि प्रोत्साहन गर्न र जलवायु परिवर्तनको प्रभाव उजागर गर्ने उद्देश्य राखेर ‘साथसाथै’ संस्थाले यस अघि मर्दी हिमाल क्षेत्रका साथै अन्नपूर्ण आधार शिविरमा यसैगरी पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ। अन्नपूर्ण आधार शिविरको पदयात्रा अभियानमा विभिन्न क्षेत्रका २० जना महिला सहभागी थिए।

विश्वमा हरित ग्यास उत्सर्जनले तापमानमा आएको वृद्धिसँगै जलवायु परिवर्तनका विविध असर देखिने गरेका छन्। हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ। यस विषयलाई पनि विश्वको ध्यानाकर्षण गराउने महिला पदयात्रा अभियानको उद्देश्य छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here