उपत्यकामा महाधिवेशन तत्काल हुनुपर्ने माग गर्दै सानेपा पुग्यो नेविसंघ

163

काठमाडाैं । महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेर काठमाडौं उपत्यकाभित्रका क्याम्पसका नेविसंघ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका नेविसंघले महाधिवेशन तत्काल हुनुपर्ने माग राखेका हुन्।

महाधिवेशन सुनिश्चित हुनुपर्ने माग राखेर सानेपा पुगेका विद्यार्थी नेता विनोदराज जोशीले नेविसंघको महाधिवेशन छिटो गर्न नेताहरूलाई दबाब दिन सुरू गरिएको जनाए । उनीहरूले कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई नेविसंघको महाधिवेशन सुनिश्चित गर्ने वातावरणका लागि पहल गरिदिन माग गर्दै पत्रसमेत बुझाएका थिए। ११ औं महाधिवेशनबाट नेविसंघ अध्यक्षमा महर निर्वाचित भएका थिए। उनले कार्यकाल सकिएपछि राजीनामा दिएका थिए। उनको राजीनामा पछि राजिव ढुंगाना नेविसंघ अध्यक्ष छन्। ढुंगाना पनि कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्।

केन्द्रीय सदस्य महरले नेविसंघ महाधिवेशन गराउन आफूले पार्टीका नेताहरूसँग कुरा गरिरहेको बताएका थिए। उनले अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे औपचारिक रूपमै कुरा राख्ने प्रतिवद्धता जनाएका थिए। नेविसंघलगायत कांग्रेसका ८ भातृ संस्थाको महाधिवेशन हुन सकेको छैन। तीन पटक म्याद थप गर्दा पनि तदर्थ समितिले महाधिवेशन गर्न सकेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here