सवारी लाइसेन्स वितरण बन्द, छपाइ तीव्र, कार्ड वितरण चाँडै

72

काठमाडौं । कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम हुँदै आएको छ ।

‘त्यसका लागि दैनिक साढे छ हजार तीन सिफ्टमा छपाइको काम हुँदै आएको छ,’ महानिर्देशक घिमिरेले भन्नुभयो,‘अहिले तीन सिफ्टमा काम चलिरहेको छ, बिहान ७ देखि अर्को दिन ७ बजेसम्म काम चल्छ, तर बीचबीचमा खाली हुने हुनाले तीन सिफ्टमा दैनिक साढे छ हजारको हाराहारीमा स्मार्ट कार्ड प्रिन्ट भइरहेको छ ।’

उहाँका अनुसार प्रिन्ट सकिने बित्तिकै यातायात कार्यालयहरुमा स्मार्ट कार्ड पठाउने गरिएको छ । त्यहाँबाट वितरण हुन्छ । घिमिरेले भन्नुभयो,‘लामो समयदेखि प्रिन्ट भएको थिएन, अहिले प्रिन्ट भएको स्मार्ट कार्ड वितरण गरिँदै आएको छ ।’ नयाँ कार्ड आएपछि स्मार्ट लाइसेन्स प्रिन्टको काम शुरु भएको हो । नयाँ कार्ड आएपछि एक लाख कार्ड प्रिन्ट गरिएको छ । करिब चार लाख ५० हजार स्मार्ट लाइसेन्सको प्रिन्ट गर्न बाँकी थियो । तीमध्ये करिब एक लाख प्रिन्ट गरेर वितरणका लागि पठाइसकिएको छ ।

गत पुस २२ गतेदेखि स्मार्ट लाइसेन्सको प्रिन्ट गर्न शुरु गरिएको हो । प्रिन्ट शुरु गरिएदेखि हालसम्म एक लाखभन्दा बढी स्मार्ट लाइसेन्सको प्रिन्ट गरिएको महानिर्देशक घिमिरेले बताउनुभयो । उहाँका अनुसार दैनिक साढे छ हजारको दरले प्रिन्ट गरेर महिनाको एक लाख बढी कार्ड यातायात कार्यालयहरुमा पठाउने गरिएको छ । पछिल्लो समय १४ लाख कार्ड प्राप्त गरी त्यसको प्राविधिक परीक्षण सकिएसँगै विभागले कार्ड छपाइको कामलाई तीव्रता दिएको हो ।

कोरोना महामारीको तेस्रो लहर शुरु भएकाले माघ ११ गतेदेखि लाइसेन्स वितरण सेवा बन्द गरिएको छ । यातायात कार्यालय चावहिलका सूचना अधिकारी नवीना रिमालका अनुसार लाइसेन्स वितरणको काम अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो ।

सूचना अधिकारी रिमालले भन्नुभयो,‘ कोरोना महामारीमा भीडभाड बढी भयो, कोरोना फैलियो भनेर केही समयलाई लाइसेन्स वितरणको काम बन्द गरिएको छ ।’ लाइसेन्स छपाइ, फर्म भर्नेलगायतको काम हुँदैछ भने वितरणको काम बन्द छ ।

उहाँका अनुसार राजस्व तिरेको बिलले गाडी चलाउन पाइने हुन्छ । उहाँले भन्नुभयो,‘कार्ड नभए पनि राजस्व तिरेको बिलले गाडी चलाउन पाइन्छ, कार्ड नै चाहिँदैन ।’ कार्ड एक–दुई हप्ता नबाँड्दा फरक नपर्ला भनेर महामारीलई दृष्टिगत गरी वितरण सेवा बन्द गरिएको छ । कोभिडको अवस्था हेरेर वितरणको काम पुनः सुचारु गर्ने उहाँले बताउनुभयो । लाइसेन्स नभएकालाई एक हजार जरिवाना हुन्छ ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका डिएसपी सन्तोष रोका भन्नुहुन्छ । राजस्व तिरेको बिल छ भने लाइसेन्सको काम गर्ने उहाँले बताउनुभयो ।

अहिलेको अवस्था
सवारी चालक अनुमतिपत्रका लागि परीक्षा उत्तीर्ण गरेर बसेका चार लाख ५० हजारभन्दा बढी चालक परीक्षा उत्तीर्ण गरेपछि दस्तुर तिरेको रसिद वा एक वर्षसम्म कायम रहने परीक्षणकालीन लाइसेन्सका भरमा सवारी चलाउन बाध्य छन् ।

विभागसँग मास प्रिन्टर 
यातायात व्यवस्था विभागसँग अहिले एउटा मास प्रिन्टर छ । त्यसलाई तीन सिफ्ट चलाएर दैनिक लगभग छ हजारसम्म स्मार्ट कार्ड प्रिन्ट हुने गरेको छ । योजनाअनुसार नियमित छपाइको काम हुँदै आएको छ । अब बाँकी रहेका तीन लाख ५० हजार कार्ड छिट्टै प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमार्फत सेवाग्राहीलाई पठाउनेछ ।

सेवाग्राहीको हातमा चाँडै लाइसेन्स पुग्ने
लाइसेन्स छपाइको काम अघि बढी सकेको छ । नयाँ आवेदन परीक्षा उत्तीर्ण गरेकाहरूको सङ्ख्या पनि बढ्दो क्रममा रहेकाले शुरु भएको लाइसेन्स छपाइको काम सकिएपछि देशभरिका २१ वटा यातायात कार्यालयमा पठाइनेछ र त्यहाँबाट सेवाग्राहीको हातमा पुग्नेछ ।

देशभरका आवेदकको कार्ड काठमाडौंबाट नै छापिने भएकाले कार्यालय अनुसार त्यहाँ आवेदन परेका सबै कार्ड छापिएको वा ठूलो सङ्ख्यामा छापिए पछि मात्रै पठाइने हुँदा कार्ड छपाइ सुरु भइसकेको भए पनि सेवाग्राहीको हातमा पुग्न समय लाग्ने हुन्छ ।

सरकारले २०७२ मङ्सिरबाट स्मार्ट लाइसेन्स वितरण थालेको थियो । त्यस बेला तीन वर्षभित्र २५ लाख कागजी लाइसेन्स विस्थापित गर्ने भनिएको थियो । तर अहिलेसम्म समयमा स्मार्ट लाइसेन्स सेवाग्राहीको हातमा पुग्न सकेको छैन । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here