बलात्कार गरी गर्भपतन गराएको कसुरमा ११ वर्ष कैद फैसला

204

बेनी । १७ वर्षीया युवतीलाई बलात्कार गरी गर्भपतन गराएको कसुरमा त्रिवेणी गाउँपालिका– १, सल्यानका २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला अदालत म्याग्दीले ११ वर्ष कैद फैसला सुनाएको छ । म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले १७ वर्षीया युवतीलाई बलात्कार गरेर जबरजस्ती गर्भपतन गराएको भन्दै बलात्कार कसुरमा १० वर्ष र गर्भपतन गराएको कसुरमा थप १ वर्ष गरी ११ वर्ष कैद फैसला गरेको हो ।

अदालतले आरोपित जनकलाई ३० हजार जरिवाना र ३० हजार क्षतिपूर्ति भराउने आदेश गरेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार तेजप्रसाद पौडेलले बताउनुभयो । २०७६ साउन २९ गते बलात्कार गरी माघ २ गते पोखरामा लगेर जबरजस्ती गर्भपतन गराएको भन्दै पीडित १७ वर्षीया युवतीले माघ ७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा त्रिवेणी गाउँपालिका– १, का २५ वर्षीय जनकबहादुर पुनलाई प्रहरीले उजुरी दिएकै दिन गिरफ्तार गरेको थियो । नवलपरासी रामग्राम– ४, घर भई पोखरा महानगरपालिका– ८, स्थित उपचार स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका ५१ वर्षीय डाक्टर राजेन्द्रकुमार चौधरी र गर्भपतन गराउँदा साक्षी बस्ने बालिकाको ६६ वर्षीय बुबालाई जिल्ला अदालत म्याग्दीले गत पुस २६ गते १ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता प्रकाश कोइरालाका अनुसार १७ वर्षीया युवतीलाई नाबालिका भन्दै बुबालाई बोलाएर साक्षी राख्न लगाएर क्लिनिकको कागजातमा भने २२ वर्षीया लेखेर गलत कागजात गराई गर्भपतन गराएको हुँदा बुबा र डाक्टरविरुद्ध गर्भ संरक्षणविरुद्धको कसुर अन्तर्गत र मुख्य आरोपी् जनकविरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here