नयाँ पार्टी खोल्ने तयारी गर्दै कमल थापा

175

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने तयारी थालेका छन्।

गत मंसिरमा भएका एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै पार्टी गतिविधि बहिष्कार गर्दै आएका थापाले अलग्गै राजनीतिक यात्रा थाल्न छलफल अघि बढाएका हुन्।
एकता महाधिवेशनपछि पहिलो पटक अध्यक्ष लिङ्देनसँग आफ्नै निवासमा छलफल गरेका थापाले सोमबार नयाँ पार्टी खोल्ने पूर्वतयारीस्वरुप बैठक बोलाएका छन्। थापाले नयाँ पार्टी खोल्ने तयारीस्वरुप नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आफूनिकट केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन्।
राजसंस्थाको नारा छाडेर हिन्दुवादी दल गठनको तयारीमा कमल थापा राप्रपाको नयाँ नेतृत्वमा थापा पक्षीय नेताहरु धेरै निर्वाचित भएका थिए। तर अध्यक्ष लिङ्देनले मनोनीत गरेर आफ्नो पकड बलियो बनाइसकेका छन्। एकता महाधिवेशनमा पराजित भएपछि थापाले त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई दिएका थिए। उनले लिङ्देनसँग पराजित भएपछि गत मंसिर १७ गते महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप छानबिन माग गर्दै राप्रपामा निवेदन दिएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई घरमै पुगेर भेटे तर अध्यक्ष लिङ्देनले निर्मल निवासबारे कुनै किसिमको छानबिन हुन नसक्ने अडान लिएका छन्। उनले कमल थापाको निवेदनलाई पार्टी बैठकमा प्रवेश गराउन पनि अस्वीकार गरिसकेका छन्।

त्यसपछि थापा फेरि माघ १६ मा अध्यक्ष लिङ्देनलाई अर्को पत्र पठाएर निर्मल निवास र ज्ञानेन्द्र शाहको हस्तक्षेप छानबिन भए मात्रै सहकार्य सम्भव हुने अडान लिएका थिए।

थापाले आफ्नो निवेदनमाथिको सुनुवाइ हुने नहुने कुरालाई लिएर माघ मसान्तसम्म कुर्ने भएका छन्। यदि माघ मसान्तसम्म पनि सुनुवाइ नभएमा उनले फागुनमा राजसंस्थाको नारा छाडेर हिन्दुवादी एजेण्डसहितको पार्टी घोषणा तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here