हिमपातले हुम्लाका २३ बस्तीको सञ्चार सम्पर्क टुट्यो

111

हुम्ला । उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्क बिहीन भएका छन्।नेपाल टेलिकमको टावरमा हिमपातले क्षति भएपछि सञ्चार सम्पर्क हुन नसकेको हो।

नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्क बिहीन भएको बताउनुभयो।उहाँका अनुसार केही समय अगाडिसम्म सम्पर्क हुँदै आएकोमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको टावरमा समस्या आएको हो।

टावरमा खराबी आएपछि उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका २३ वटा बस्तीका बासिन्दा सञ्चार सम्पर्क बिहीन बनेका हुन्। नेपाल टेलिकम सिमकोट शाखाका लाइनम्यान रामबहादुर बोहराका अनुसार उत्तरी हुम्लामा दुई वटा स्थानमा रहेका टावर हिमपातले क्षति पुगेको हो।

टेलिकमका टावर सिमकोट गाउँपालिकाको धारापोरी र नाम्खा गाउँपालिकाको इलिङ रहेका टावरमा खरावी आएको हो।उहाँले हिमपातले तत्काल प्राविधिक गएर मर्मत गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो।हिउँ पग्लेपछि मात्र प्राविधिक गएर टावरको मर्मतपछि सेवा सञ्चालन हुनेछ।

हिमालपारीको गाउँ लिमीका तीनवटै बस्ती पनि पाँच दिनदेखि सञ्चार सम्पर्क बिहीन हुँदै आएका छन्।यता हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी ) सँग भने घाम लागेपछि मंगलबार बिहान सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मसँग सम्पर्क भएको जनाइएको छ। Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here