काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरूङले महाअभियोगको लागि सबै सासंदहरूले सहयोग गर्नेमा आशावादी रहेको बताएका छन्।
आइतबार सत्तारूढ गठबन्धनका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका छन्।
त्यसमा प्रस्तावक रहेका गुरूङले निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको छवि कायम गर्नकै लागि सबै सासंदहरूले सहयोग गर्नेमा आफू आशावादी रहेको जनाए । उनले संविधानको, गणतन्त्रको रक्षा गर्नको निम्ति र न्यायापालिकाको स्वतन्त्रता, निष्पक्षता र स्वतन्त्र न्यापालिकाको छवि कायम गर्नका लागि सबै सासंदहरू सचेत र सजग हुनुहुन्छ। त्यसकारण यो विषयमा सबै सासंदहरूले सहयोग गर्नुहुनेछ भन्नेमा आशावादी रहेकाे जनाए ।
सर्वोच्च अदालतमा लागेको डेडलकलाई फुकाउन पनि उनीविरूद्ध महाअभियोगको प्रस्ताव राखेको उनले बताए। यस्तो अवस्थामा आफूहरू टुलुटुलु बस्न नसक्ने पनि उनले जनाए । ‘न्यायालय डेड लक भएर बस्ने अवस्थामा सासंदहरू, जनप्रतिनिधिहरू टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन। राज्यका महत्वपूर्ण तीनवटा अंग कार्यपालिका व्यवस्थापिका र न्यायपालिकामध्ये न्यायपालिका पूर्ण डेडलक भएको अवस्था यस्तै प्रकारान्तर रूपले संविधान, गणतन्त्र नै बिफल हुने संकट र समस्या पैदा भएको छ,’ उनले भने।


















