काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन्।
शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले दबाब दिएको विषयमा मौन बसेको भन्दै वैद्य एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन्।
आगामी फागुन १६ भित्र संशाेधनविना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुमार र सहायक विदेशमन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव वैद्यले त्यसको विरोधमा डटेर सामना गर्नुपर्नेमा पनि जोड गरेका छन्। ‘अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौं भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन्’, वैद्यले आक्रोश व्यक्त गर्दै भनेका छन, ‘एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्, यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो।’
वैद्यका अनुसार सुमारले एमसीसी परियोजना संशाेधन नहुने तथा फागुन १६ भित्र पारित गर्नै पर्ने भन्दा पछिल्लो समयमा अमेरिकाले दबाब बढाउनु स्वतन्त्र र सार्वभौम मुलुकमाथि हस्तक्षेपसमेत हो।
क्रान्तिकारी माओवादीले अमेरिकी साम्राज्यवादको सो प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भर्त्सना र घोर विरोध गरेको वैद्यले जनाएका छन्। देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन महासचिव वैद्यले प्रेस विज्ञप्तिमार्फत आह्वानसमेत गरेका छन्।


















