एनओसीको २१औँ साधारणसभा सम्पन्न

19

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गरेका थिए । यस्तै, आन्तरिक लेखा परीक्षक रविन भुसालले आर्थिक वर्ष २०८१/२०८२ को आर्थिक विवरण तथा कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्व गर्दै प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराएका थिए । उनले जानकारी गराएअनुसार आगामी वर्ष नेपालले चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ, जसमा जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्स रहेका छन् । यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछ ।

साधारणसभाको अवसरमा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पीएमसी) गठनका लागि प्रस्ताव गरिएको छ ।

कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो । यसअघि उद्घाटनसत्रमा कमिटीका महासचिव श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल संघकातर्फबाट बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद विकासका लागि एनओसी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै आफ्नो संस्था नेपाली खेलकुद र खेलाडीको विकासका लागि सधैं तत्पर रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here