काठमाडौं । साहित्यकार तथा समालोचक ताना शर्माको निधन भएको छ। डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज निधन भएको हो। उनी मुटुरोग, उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित थिए।
बिहान साढे ८ बजे काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित निवासमै उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले पुष्टि गरे।
शर्माको आजै दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लेकालीले जानकारी दिए। शर्मा १९९१ असार ९ मा इलामको बरबोटेमा जन्मिएका हुन्। शर्माका श्रीमती र दुई छोरा छन्।
झर्रोवादी आन्दोलनका अभियन्ता शर्माका बेलायततिर बरालिँदा, पाताल प्रवास जस्ता निबन्ध संग्रह चर्चित छन्। बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर उनले झर्रोवादी अभियान थालेका थिए।

















