जग्गा अभाव झेल्दै हेटौँडा औद्योगिक क्षेत्र

131

हेटौँडा। हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव झेल्दै आएका छन् । पहुँचका आधारमा जग्गा ओगट्ने प्रवृत्ति बढ्दै गएपछि नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएको हो ।
यस औद्योगिक क्षेत्रभित्र स्थापना गरिएका उद्योगमध्ये केही बन्द भएको वर्षौं भइसक्दासमेत न उद्योग पुनः सञ्चालनका लागि प्रयास थालिएको छ न जग्गा खाली गरिएको छ । यसरी बन्द उद्योगले जग्गा खाली नगरिदिँदा नयाँ उद्योग स्थापनाका लागि जग्गाको अभाव हुने गरेको हो ।

यो औद्योगिक क्षेत्रमा उद्योगलगायत सेवा क्षेत्रका लागि विकास गरिएको जग्गामध्ये उद्योग स्थापनाका लागि सम्झौता गरेर पनि स्थापना नभएका र बन्द उद्योगले ठाउँ ओगट्दा २६१ रोपनीभन्दा बढी जग्गा उपयोगविहीन बनेको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले १३३ वटा उद्योगले जग्गा बहाल सम्झौता गरेकामा हाल १११ वटा उद्योग सञ्चालनमा र केही निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्रभित्र स्थापना भएका नेपाल वनस्पति घिउ उद्योग, नेमो पार्केट, गङ्गा सोप, चुरियामाई काष्ठ उद्योगलगायतका उद्योग लामो समयदेखि बन्द छन् ।

सम्झौताको वर्षाैं बित्दा पनि उद्योग खुल्दैनन्
क्वालिटी ह्याचरी एन्ड फिड इन्डस्ट्रिज, साउथ एसियन ब्रुअरी प्रालि, बानियाँ मल्टी प्रोडक्ट इन्डस्ट्रिजलगायतका उद्योगले जग्गा बहाल सम्झौता गरेको वर्षांै बितिसक्दा पनि उद्योग स्थापनाको काम सुरु गरेका छैनन् । जग्गा सम्झौता गरेको दुई वर्षभित्र उद्योग स्थापनाको प्रक्रिया सुरु नगरेमा उक्त जग्गा पुनः औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकै नाममा फिर्ता गर्नुपर्ने व्यवस्था छ तर कतिपय उद्योगले जग्गा सम्झौता गरेको लामो समयसम्म उद्योग स्थापना नगरी जग्गा ओगट्ने काम गरिरहेको भए पनि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढाउन सकेको छैन । उद्योग स्थापना गर्न जग्गा सम्झौता गरेका उद्योगबाट जग्गा फिर्ता लिएमा थप २० वटा उद्योग स्थापनाका लागि जग्गा पुग्ने बताइन्छ ।

कारबाहीको प्रक्रिया सुरु
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग उद्योग स्थापना गर्न जग्गा बहाल सम्झौता गरी लामो समयदेखि उद्योग स्थापनाको प्रक्रिया सुरु नगर्ने दुई उद्योगमाथि कारबाही प्रक्रिया सुरु गरेको छ । क्षेत्र व्यवस्थापक कँडेलका अनुसार जग्गा बहाल सम्झौता गरी लामो समयसम्म कुनै कार्य नगरी जग्गा यथास्थितिमा राखेका उद्योगहरूमाथि कारबाही प्रक्रिया सुरु गरिएको हो ।

पशुपन्छीको दाना र कुखुराको चल्ला उत्पादन गर्ने प्रयोजनका लागि क्वालिटी ह्याचरी एन्ड फिड इन्डस्ट्रिज र बियर उत्पादन गर्ने प्रयोजनका लागि साउथ एसियन ब्रुअरी प्रालिले जग्गा भाडामा लिने सम्झौता गरी काम नथालेपछि ३५ दिने सूचना जारी गरी कारबाही प्रक्रिया सुरु गरेको बताउनुभयो ।

२०६४ माघ ९ गते ३४ रोपनी जग्गा बहाल सम्झौता गरेको क्वालिटी ह्याचरीले हालसम्म औद्योगिक क्षेत्रलाई जग्गाभाडा भुक्तानी गरेको छैन । बक्यौता रकमसहित कार्ययोजना प्राप्त नभएमा सम्झौता रद्द गर्ने कार्यालयले जनाएको छ । यस्तै २०७३ माघ १० गते १०५.३५ रोपनी जग्गा बहाल सम्झौता गरेको साउथ एसियन ब्रुअरी उद्योगले इजाजत नवीकरण भएको प्रमाणपत्र कार्यालयमा पेस गरेको छैन ।

उद्योग इजाजत पत्रसहित उद्योग सञ्चालनको ठोस योजना ३५ दिनभित्र पेस गर्न अन्तिम पटक सूचना जारी गरेको भन्दै कार्यालयका क्षेत्र व्यवस्थापक कँडेलले सर्तबमोजिम नभएमा उद्योगसँग भएको सम्झौता रद्द गरिने जानकारी दिनुभयो । अमेरिकी सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२० सालमा स्थापना भएको औद्योगिक क्षेत्रको तीन हजार २२८ रोपनी जग्गामध्ये उद्योग स्थापनाका लागि दुई हजार ८०१ रोपनी छुट्याइएको राममणि दाहालले गाेरखापत्रमा समारचा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here