विराटनगर । नेपाल बसोबास बस्ती संरक्षण समाजले चुनाव अघि लालपुर्जा नदिए सुकुम्वासीले भोट नहाल्ने भन्दै फागुन ११ गते नगरपालिका घेराउ गरेका छन्। पटक-पटक लालपुर्जाको आसमा उधारोमा भोट हाल्दै आएका भन्दै सुकुम्वासीहरूले आउने निर्वाचनमा लालपुर्जा नपाए भोट नहाल्ने सम्मको रणनीति बनाएको समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् ।

हरेक निर्वाचनताका पार्टीहरूका आश्वासनका भरमा रहेका सुकुम्वासीहरू यो पटक भने देशैभर उधारोमा भोट नहाल्ने योजना सहित आन्दोलित बनेका छन्। “नो लालपुर्जा नो भोट”को अभियानमा सक्रिय हुँदै यस अघि पनि चितवनमा ५० हजार भन्दा धेरैको उपस्थिति सबै पार्टीका नेताहरूलाई खबरदारी गरेका थिए । सुकुम्वासीहरूको सामाजिक संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले आज मोरङको सुन्दर हरैचा नगरपालिकामा र्याली सहित ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । नगर भित्रका सुकुम्वासीहरूले नगर प्रमुख शिव ढकाललाई गेट बाहिर सडक मै बोलाएर समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बि.क.ले ध्यानाकर्षण पत्र बुझाएका हुन । पत्र बुझ्दै मेयर ढकालले आउने निर्वाचन अघिनै लालपुर्जा दिने तयारी रहेको र ढुक्क भएर जना भनी सडक बाटै आश्वासन दिएका थिए। जवाफमा उपस्थित सुकुम्वासीहरूले पहिला जस्तो उधारोमा भोट माग्न नआउन भन्दै सुकुम्वासीहरूको मतको दुरुपयोग गर्ने जो कोही पनि अपराधी भएको बताएका थिए ।

चर्को नारासहित गेटमा पुगेका सुकुम्वासीले लालपुर्जा प्राप्तिका लागि अन्तिम लडाइ लड्ने उद्घोष गर्दै लालपुर्जा दिएर सुकुम्वासी मुक्त राष्ट्र घोषणा गर्न माग गरेका थिए। आयोगको प्रक्रियामुखी प्रावधानलाई छोडेर स्थानीय तहको सिफारिसमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र मालपोत कार्यालयबाट सिधा फास्ट ट्र्याकमा लालपुर्जा दिन माग गर्दै सुकुम्वासीका नाममा अब भ्रमको राजनीति नगर्न नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।
देशका १५ जिल्लामा अभियान सकिएको र फाल्गुन भित्र सबै जिल्लामा सक्ने लक्ष्य रहेको समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जानकारी दिए। “जाग उठ लम्क अब पछि नफर्क, हाम्रै पालमा सुकुम्वासी मुक्त राष्ट्र बनाउनु पर्छ” भन्ने अठोट सहित संस्थाले देशव्यापी आन्दोलनमा लागेको कार्कीले अगाडि थपे। हरेक निर्वाचनमा आस देखाउँदै मत माग्दै झुक्याउनेहरुको असली रूप सुकुम्वासीले थाहा पाएको र यो अभियान पनि शक्तिशाली हुँदै गएको कार्कीले बताए। यस कार्यक्रमबाट राजनीतिक पार्टीहरूलाई पनि नैतिक सङ्कट परेको उनले बताए।


















