रुससँग आफ्नो स्वतन्त्रता रक्षाका लागि लडिरहेको युक्रेनको नेतृत्वले नागरिकको साथ पाएको छ । त्योसँगै विश्वव्यापी रुपमा युक्रेनप्रति ऐक्यवद्धता जनाउने देशहरुको संख्या रुसको साथ दिने भन्दा अधिक छ ।
अधिकांश देशहरुले युक्रेनलाई हतियारसहितका युद्धका लागि अत्यावश्यक सामग्रीहरु प्रदान गरिरहेका छन् । केही देशले त कानुन नै परिवर्तन गरेर वा रुससँगको आफ्नो व्यापार सम्झौता जोखिममा पारेर युद्धमा युक्रेनलाई साथ दिएका छन् ।
अमेरिकाले युक्रेनलाई ३५० मिलियन डलर सहयोग गर्ने भएको छ । यो सहयोग जाभलिन एन्टी–ट्यांक मिसाइल, एन्टी–एअरक्राफ्ट सिस्टम र बडी आर्मरसहितका हतियारका लागि हुनेछ ।
यस्तै जर्मनीले आफ्नो कानुन नै परिवर्तन गरेर युक्रेनलाई एक हजार एन्टी–ट्यांक ग्रिनेड लञ्चर तथा ५०० वटा स्टिन्जर सफेस टू एअर मिसाइल दिने भएको छ । जर्मनीले यी हतियार आकश्मिक रुपमा प्रदान गर्ने घोषणा गरेको हो ।
नेदरल्याण्ड्सले ५० वटा एन्टी–ट्यांक हतियार र ४०० वटा रकेट तैनाथ गर्ने जनाएको छ । यस्तै जर्मनी र नेदरल्याण्ड्सले नेटो भित्र रहेको स्लोभाकियामा संयुक्त एअर डिफेन्स सिस्टम पठाउनेबारे पनि विचार गरिरहेका छन् ।
यस्तै नेटोले पूर्वी युरोपमा आफ्नो तैनाथी पनि बढाउन थालेको छ ।
यसैबीच अजरबैजानको राष्ट्रिय तेल कम्पनीले युद्धको अवधिभर युक्रेनका अग्निनियन्त्रण तथा एम्बुलेन्स सेवाका सवारीलाई निशुल्क इन्धन उपलब्ध गराउने भएको छ । हालै रुससँग सहकार्य सम्झौता गरेको अजरबैजानले त्यसलाई जोखिममा पारेर युद्धमा युक्रेनलाई साथ दिएको हो ।
नागरिक स्तरबाट पनि युक्रेनलाई सहयोग गरिरहेका छन् छिमेकी देशका बासिन्दाहरुले । पोल्याण्ड तथा हंगेरीका नागरिकले सीमा क्षेत्रमा युक्रेनीहरुका लागि खाद्यान्नसहितका सामग्री सहयोग स्वरुप उपलब्ध गराएका छन् ।
















