युक्रेन छाडिरहेका विदेशी, जो न्यानोका लागि आफ्नै कपडा जनाउन बाध्य

50

काठमाडौं । गत हप्ता रसियाले आफ्ना सैनिकलाई सीमापारि युक्रेन पठाएपछि सुरु भएको युद्धमा हजारौं अफ्रिकीहरु पनि फसेका छन्। तीमध्ये अधिकांश युक्रेनमा रहेका विद्यार्थी छन्।

संयुक्त राष्ट्र संघको शरणार्थीसम्बन्धी एजेन्सीका अनुसार हालसम्म द्वन्द्वका कारण करिब आठ लाख ३६ हजार मानिस युक्रेनबाट भागिसकेका छन्। युक्रेनभित्रै पनि करिब १ करोड मानिस बसिरहेको ठाउँ छाड्न बाध्य छन्।

त्यहाँ भएका अफ्रिकी नागरिकहरू पोल्यान्डको शहर लिन पुगेका छन्। उनीहरुलाई उद्धारका लागि त्यहाँ पुग्न आफ्नो देशको सरकारले भनेपछि पोल्यान्डको लिन पुग्नेको संख्या बढिरहेको छ। मंगलबार ३१ वर्षिय सोमाली युवा नेता तथा विद्यार्थी सम्पर्क अधिकारी मुस्तफा मोहम्मद पोल्यान्ड र युक्रेनको सिमाना नजिकै रहेको शहर प्रिजेमिसलस्थित सहायता केन्द्रमा पुगेका छन्। उनले त्यहाँबाट आफूले भोग्नु परेको कथा सुनाएका छन्, जसलाई केही सम्पादन गरेर यहाँ प्रस्तुत गरिएको छ।

म करिब १० वर्षदेखि युक्रेनमा बसिरहेको थिएँ। त्यहाँ म अध्ययनका लागि गएको हुँ र मैले आर्थिक व्यवस्थापनमा डिग्री हासिल गरेको छु। आफ्नो अध्ययन सकेसँगै मैले युक्रेनमै बस्ने र काम खोज्ने निधो गरेँ। त्यहाँ धेरै अफ्रिकी विद्यार्थीहरुसँगै अफ्रिकी समुदाय पनि बढिरहेछ। म त्यहाँको भाषा बोल्छु, त्यसैले मैले विद्यार्थीहरुको सम्पर्क अधिकारी बन्ने निधो गरेको थिएँ।

युद्ध हुनुअघि सबै कुरा सामान्य थियो। युद्धअघि सबै मानिसको अनुहारमा भएको हाँसो मलाई याद छ। तर, २४ फेब्रुअरीदेखि अचानक सबै परिवर्तन भयो। मेरो शहर भिन्निटिस (उत्तर–मध्य युक्रेन)मा साइरन बज्यो। त्यसपछि हरेक घण्टा साइरन बज्न थाल्यो। हामीले विष्फोटको ठूलो आवाज सुनेपछि आत्तिन थाल्यौं। शहरमा एउटा सैन्य केन्द्र थियो। मान्छेहरुले भनेअनुसार त्यहाँबाट सैनिकहरुलाई हतियार प्रदान गर्ने गरिन्थ्यो। हामीले सुनेअनुसार त्यसमा हमला गरिएको थियो।

मैले कहिल्यै पनि युद्ध हुन्छ भन्ने कल्पना गरेको थिइनँ। राजनीतिक दलका नेताहरुले धेरै कुरा बोले पनि त्यसलाई कार्यान्वयन गर्दैनन् जस्तो लाग्थ्यो। तर, त्यो ठूलो विस्फोटपछि ज्यान बचाएर भाग्नु पर्ने महसुस भयो।

त्यहाँ सोमालियाबाट आएका सोमाली विद्यार्थी मात्र नभइ अमेरिका, बेलायत, स्वीडेन र फिनल्याण्डजस्ता पश्चिमा देशहरुबाट आएका सोमाली विद्यार्थीहरू पनि थिए। अधिकांशले मेडिकल पढिरहेका थिए। पश्चिमा देशको पासपोर्ट भएकाहरूलाई उनीहरुकै दूतावासले युद्ध सुरु हुनुअघि नै उद्धार गरेको थियो। सोमाली पासपोर्ट भएका हामीहरु भने त्यहीँ बसिरहेका थियौँ, किनकि हामी जाने कुनै ठाउँ थिएन। भोलिपल्ट भने हामी सबै सोमाली एकसाथ युक्रेन छाड्ने निधोमा पुग्यौँ। अब त्यहाँ बस्नु सुरक्षित थिएन।

युद्ध भड्किसकेको कारण रेल सञ्चालनमा थिएन। धेरै मान्छेहरु गुडिरहेको बस वा जेसुकैमा पनि चढ्ने प्रयास गरिरहेका थिए। त्यहाँका अधिकारीहरूले पहिले युक्रेनका नागरिकलाई प्राथमिकता दिएका थिए। त्यसपछि मात्रै अन्य देशका नागरिकले सार्वजनिक यातायातमा बस्न पाएका थिए। तर, मसँगै अन्य सोमालीहरु पर्खिने पक्षमा थिएनौँ। किनभने, हजारौं युक्रेनीहरु नै बाँच्ने आशामा युक्रेन छाड्न खोजिरहेका थिए। हाम्रो पालो कहिले आउने टुंगो थिएन। हामी साना बसहरू भाडामा लिएर पोल्यान्डको सिमानासम्म जाने व्यवस्था गर्न सफल भयौँ। उनीहरुले हामीलाई सामान्यभन्दा धेरै भाडा लिए।

मसँगै अन्य ८८ जना थियौँ। हामी युद्ध सुरु भएको भोलिपल्ट शुक्रबार युक्रेनबाट हिड्यौँ। सुरक्षाको कारण हामीले पहिलो बसमा युक्रेनी भाषा बोल्न नसक्ने महिलाहरूलाई राखेका थियौँ। यदि, केही नराम्रो भइहालेमा युक्रेनी भाषा बोल्न सक्ने हामी धेरै समयसम्म जीवित रहन सक्छौँ भनेर यसो गरेका थियौं। बाँकी हामी अन्य दुई वटा बसमा खाँदिएर सिमानातर्फ लाग्यौं।

आपूर्तिका सामग्री लिन हरेक मान्छे हतारिएकाले बाटोमा भएका पसलमा सामान थिएनन्। यो दृश्य कोरोना महामारीको सुरुवातमा जस्तै थियो। तर, यसपटक कुनै भाइरसको कारण नभएर युद्धका कारण पसलका र्‍याकहरु खाली भएका थिए। एटीएममा पनि निकाल्न मिल्ने पैसामा सीमा तोकिएको थियो।

सिमानातर्फ जाने बाटोको ट्राफिक सहनै नसकिने गरी व्यस्त थियो। सामान्यतयाः ६ घण्टा लाग्ने यात्राको लागि हामीलाई दुई दिन लाग्यो। सडकमा चेकपोइन्टहरु थिए, जसलाई प्रायः दुई अधिकारीहरुले चलाइरहेका थिए। हामीले बाटोमा कुनै पनि सैनिक समूह देखेनौँ।

हाम्रो समूह सिमानाबाट ५० किलोमिटर मात्रै टाढा हुँदा ट्राफिक जामका कारण गाडीहरु ठप्पै भए। थोरै गुड्न पनि सकिरहेका थिएनन्। हामी गाडीबाट ओर्लिएर हिँड्दै बाटो पहिल्याउन थाल्यौँ। सुरक्षित स्थान पुग्ने आशामा त्यहाँ धेरै वृद्ध र बालबालिकाहरुले संघर्ष गरिरहेको मैले देखेको थिएँ। जतासुकै हेर्दा पनि आँखाले भ्याउने ठाउँसम्म मान्छे र गाडीहरू मात्रै थिए।

हामी सिमानामा आइपुग्दा स्थिति थप बिग्रियो। अत्यधिक धेरै मान्छे भएका कारण गार्डहरू हैरान भएर निरन्तर चिच्याइरहेका थिए। परिस्थिति नाजुक थियो। मान्छेहरु एकअर्कालाई ठेलाठेल गर्ने र चिच्याउने गरिरहेका थिए। उनीहरु आत्तिरहेका थिए। कतै पनि खाना थिएन। कठ्यांग्रिने चिसो थियो र बच्चाहरू रोइरहेका थिए।

गार्डहरुले एकैपटकमा ६०० जनालाई जान दिए, पक्कै पनि तिनीहरू युक्रेनी नागरिक थिए। उनीहरूले युक्रेनी महिला र बालबालिकालाई पहिले जान दिए, अनि युक्रेनी पुरुषहरूलाई। आफ्नै नागरिक उनीहरूको प्राथमिकतामा थिए, यसको कारण मैले पनि बुझेको थिएँ। हामी आफ्नो पालो कुरेर बसिरह्यौं। यसले सीमा पार गर्न खोजिरहेका धेरै गैरयुक्रेनी नागरिकलाई दुःखी बनाएको थियो।

हामी १ मार्चमा सिमाना पार गर्न सफल भयौँ। हामीले सिमाना पार गर्ने आफ्नो पालो कुरिरहँदा खाना खान पाएका थिएनौँ। युक्रेनबाट छुट्नुअघि पसलमा किनेका चकलेट बारहरू खाएर जीवित भएका थियौँ। राति चिसो बढेपछि हालत झनै बिग्रिँदै गएको थियो। सिमाना कट्नुभन्दा अघिको रात यति धेरै चिसो थियो कि हामीले आफ्नो कपडा र झोलाहरू जलाएर आगो ताप्यौँ र शरीरलाई न्यायो बनायौँ। हामीसँग आगो बाल्नका लागि अरू केही पनि सामग्री थिएन।

सिमाना पार गरेपछि पोल्यान्डका अधिकारीहरूले हामीलाई बसबाट प्रिजेमिसलस्थित सहायता केन्द्रमा पुर्‍याए। हामी यहीँ छौँ। यहाँ न्यानो छ। खाना र शौचालय पनि छ। नुहाउनसमेत पाएका छौँ।

गत साताको शुक्रबार यता पहिलो पटक न्यानो विस्तारामा सुत्न पाएका छौँ। मैले मेरो आगामी कदमबारे निर्णय गर्न सकेको छैन। म हर्गेसिया (दक्षिणी सोमालिया)बाट आएको हुँ। त्यहाँका मान्छेहरुले भन्छन्, ‘सुख्खा मौसममा सबैभन्दा महत्वपूर्ण भनेको घाँस पाउनु हो।’ त्यसैले अहिले युक्रेनभन्दा धेरै सुरक्षित मेरो घर नै हुन्छ।अलजजिराबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here