नेपालमा पनि गाँजाको नशाबाट राम्रै तरक्की हुने सपना देख्न थालिएको छ। सरकारले गाँजा खेती गर्ने गराउने सम्बन्धी सकारात्मक मान्यतालाई अगाडी बढाउँदै गरेको समाचारहरू शिवरात्रीको पर्याय ‘गाँजा दिवस’ कै आसपासमा बाहिरिए। तर नेपाली समाज, अर्थतन्त्र र ज्ञानका दृष्टिले मुलुकको आवश्यकता गाँजा खेति हो कि खाद्य उत्पादन हो भन्ने बिषयमा भने तुलनात्मक अध्ययन र खुला बहस पर्याप्त देखिएको छैन।
कपडादेखि औषधिसम्मको कच्चा पदार्थका रुपमा प्रयोग हुन सक्ने गाँजालाई विगतमा अपराधिकरण गरियो र आज ठूलो आम्दानीको श्रोत भनेर देवत्वकरण गर्न खोजिएको छ। विगतमा गाँजा कारोवारमा संलग्न हुनेहरू अपराधी भए अब सम्मानीत व्यापारी, लगानिकर्ता अथवा उद्योगी ठहरिने छन्! जसरी चुरोटलाई विगतमा लोभलाग्दो आम्दानी, रोजगारीको स्रोत मानियो; धेरैले कमाए! अहिले स्वास्थ्यका हिसावले अत्यन्त हानिकारक र प्रतिवन्धको नजिक बताइन्छ। जङ्क फुडबाट धेरैले अलल्य सम्पत्ति जोडे। राज्यको अनुमति मै जोडेका हुन्। जङ्क फुडका कारण मानिसको स्वास्थ्यमा अनेकौं नकारात्मक असर देखिए पछि राज्य नै हार-गुहार गर्न लागी परेको छ। जमिन मुनिबाट निकालिएको इन्धन (फोसिल फ्युल) ले मानव अस्तित्व नै संकटमा पारेको निश्कर्ष छ। आधुनिक विकासको मान्यताले यस्तो संकट पनि ल्याएको बिर्सन मिल्दैन। यसरी खराव र असल के हो भन्ने मै अस्पष्ट मान्यता राखेर चलेको छ आधुनिक राज्य, समाज र शासन! गाँजा प्रतिको बदलिंदो मान्यता पनि राज्यको दृष्टि दोषभन्दा बाहिर छैन।
नेपालको एक्लो चिन्तन र प्रयाश नभएर विश्व व्यवस्थाले लिएको नीतिका कारण गाँजाप्रतिको मान्यतामा परिवर्तन आएको हो। सन् १९६१ मा संयुक्त राष्ट्र संघले ‘खतरनाक नशालु पदार्थ’ भनेर लगाएको प्रतिवन्ध ६९ वर्षपछि सन् २०२० मा ‘औषधि प्रयोजनका लागि उपयोगी’ भनेर विश्व स्वास्थ्य संगठनको सिफारिसमा फुकुवा गरियो। जम्मा ५३ देशको उपस्थितिमा २७ देशले समर्थनमा मतदान गरे पछि फुकुवा संभव भएको हो। नेपालले समर्थनमा मतदान गरेको थियो। युक्रेनले अनुपस्थिति जनायो भने चीन, पाकिस्तान, रुस, टर्की, नाइजेरिया आदिले विपक्षमा मतदान गरेका थिए। गाँजालाई औषधी बाहेकको प्रयोजनमा भने दुरुपयोग निकट रहेको नशालु पदार्थकै रुपमा राखेर अवैधानिक मानिएको छ।
गाँजालाई वैधानिक गराउने मुलुकमा उरुग्गे र क्यानाडा क्रमशः पहिलो र दोश्रो भए। यसरी ‘गाँजा अर्थतन्त्र’ (क्यानाविज इकोनोमी)को वैधानिकता विस्तार हुँदैछ। विगतमा गाँजा औषधि बाहेकको प्रयोजनमा व्यापक थियो। खासगरी युवाहरुलाई दुर्व्यसनी बनाउने, अपराधमा लगाउने र युद्धका लागि अवैधानिक श्रोत जुटाउने समेत माध्यम बनेको तथ्यहरुले देखाएका छन्। गाँजालाई हेम्प, मारिवाना, क्यानाविज, वीड आदि नामले चिन्ने गरिन्छ।
यतिखेर नेपाल पनि ‘गाँजा अर्थतन्त्र’ विस्तार गर्ने सोचमा देखिएकोछ। गाँजा खेतिमा गरिएका मान्यता परिवर्तन र सम्भावित चुनौतिबाट भावी पुस्ताको सुरक्षित भविष्य निर्माण गर्ने दायित्व पनि वर्तमान पुस्ताको हो।
















