स्थानीयले प्रतिकार गरेपछि नेपाल सरकारलाई जानकारी र एसएसबीको ध्यानाकर्षण गराईयो !
काठमाण्डौ / महाकाली सन्धिको असर अहिले २५ बर्षपछि देखापर्न थालेको छ । भारतले महाकाली नदीको धार परिवर्तन गरेर नेपाली भूभाग हडप्ने योजना बनाईरहेको छ । नेपालको दार्चुला जिल्लाको सदरमुकाम खलंगाको पारिपट्टी महाकाली नदी किनारमा भारतले पक्की तटबन्ध निर्माण गरिरहेको छ। गत मंगलबार महाकाली नदीको धारलाई नेपालतर्फ फर्काउँदै भारतपक्ष नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका छन्।
दार्चुला सदरमुकाम क्षेत्रको महाकाली नदी किनारमा भारतपक्षले महाकाली नदीमा उत्खनन् गर्दै नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयहरुले ढुंगामुडा गरी विरोध गरेका थिए ।नेपालीपक्षका तर्फबाट सरकारी निकायको उदासिनताका कारणबाट भारतले यस्ता अतिक्रमणकारी गतिबिधि गर्दै आएको छ ।
नेपालतर्फ दार्चुला जिल्लाको सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा ५ किलोमिटर पक्की तटबन्ध बनाइएको छ। भारतले पनि यहाँको जस्तै आफ्नै भू–भागमा तटबन्ध निर्माणको काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टले जनाएको भन्दै समाचारहरुमा उल्लेख भएका छन्।
तर भारतीय पक्षले नेपाली क्षेत्रमा आएर महाकाली नदी नेपालतर्फ फर्काउने काम गरिरहेको भन्दै स्थानीयहरुले प्रतिकार गरेपछि सशस्त्र प्रहरी बलका एसपी विष्टको नेतृत्वमा सशस्त्र प्रहरी टोली उक्त क्षेत्र पुगेको थियो।
भारतपक्ष नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले सांकेतिक रुपमा ढुंगामुडा पनि गरेछन्। तटबन्ध निर्माण भइरहेको भारतको क्षेत्रमा महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपालतर्फ फर्काउन खोजिएको रहेछ भन्दै भारतपक्षको निर्दोषितालाई पुष्टि गर्न सशस्त्र प्रहरी बलका जिम्मेवार पदाधिकारीले नै कूतर्क गरेपछि स्थानीयहरु थप आक्रोशित भएका छन् ।
तथापी यसबारे भारतीय एसएसबी कमाण्डेन्टलाई जानकारी गराएको एसपी विष्टले बताए। एसएसबीले जानकारी पाएपछि उक्त स्थलमा एसएसबी पनि पुगेको जनाईएको छ ।
तटबन्ध निर्माणमा भारतीय प्रशासनले नेपालको प्रशासनसँग समन्वय नगर्दा यस्तो समस्या आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जनाएका छन् ।
महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको संरचना लगायतका विषयमा जानकारी गराउन भारतीय पक्षलाई अनुरोध गरिएको भएपनि हालसम्म जानकारी नगराएको प्रजिअ उपाध्यायको प्रतिकृया छ । ‘महाकाली सीमा नदी भएकाले नेपाली पक्षलाई त्यसबारे जानकारी गराइनु पर्थ्यो,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ । उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुवीच सम्बाद भएको जनाईएको छ।
स्थानीयहरुबाट प्रतिरोध भएको क्षेत्रमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत अधिकारीहरु पुगेका थिए। प्रशासनिक अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले स्थानीयहरुलाई प्रशासनिक तहबाट समस्याको समाधान गरिने आश्वासन दिएका छन्।तर पनि स्थानीयहरु सरकारी निकायप्रति आश्वस्त हुन सकिरहेका छैनन् । महाकाली नदीको बहाव परिवर्तन गराउने प्रयास भारतपक्षले धेरै पहिलेदेखि नै गर्दै आएको छ । महाकाली सन्धि पछि नेपालको पश्चिमी भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा कब्जा जमाएर बसेको भारतले त्यो क्षेत्रलाई भारतको आधिकारिक बनाउन महाकाली नदीको उदगम र धार नै परिवर्तन गर्ने प्रयास गर्दै आएको छ । सिमाक्षेत्रमा भारतीय ज्यादतिका कारणबाट नेपालले जमिन, जल र युवाहरुको ज्यानसमेत गुमाउँदै आएको छ । जनधारणा साप्ताहिकबाट
















