के कस्तो हो प्रचण्डको कम्फर्टेबल सरकार ? -नारायण शर्मा

59
हालै प्रचण्डले सार्वजनिक गरेको नेकपाको आफ्नो समूह, नेपाली कङ्ग्रेस र जनता समाजवादी पार्टीहरु मिलेर अर्थात् आफ्नै नेकपाको ओली समूह, नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टीजस्ता तुलनात्मक रुपले बढी देसभक्त शक्तिहरुलाई छाडेर अन्य तुलनात्मक रुपले कम देसभक्त शक्तिहरु मिलेर सरकार बनाउने कुरा गरेका छन् ! अर्को शब्दमा भन्नुपर्दा प्रो इन्डियन शक्तिहरु मिलेर इन्डियन हस्तक्षेपको विरोध गर्ने शक्ती इतरको सरकार बनाउने आफ्नो नीति र योजना रहेको सार्वजनिक गरे । यो उनको व्यक्तिगत वा पार्टीगत के कुरा हो ? त्यो कुरा त खुल्न बाँकी छ । जे होस्, त्यस्तो सरकारबारे स्पष्ट पार्दा उनले नाममा, रुपमा र अंशमा त चीन र भारत दुवै छिमेकी मुलुकलाई कम्फर्टेबल हुने भनेका छन् तर काममा, सारमा र समग्रमा भने स्पष्टत: दक्षिणी छिमेकी भारतलाई कम्फर्टेबुल हुने सरकार नेपालमा बनाउने कुरा नै गरेका छन् ।
प्रचण्डले आफ्नो उक्त कुरालाई सही प्रमाणित गर्न भारतसङ्गको नेपालको विशेष सम्बन्ध रहेकोले भारतलाई कम्फर्टेबल हुने सरकार नै नेपालमा बनाउनुपर्ने र त्यस्तो सरकारले मात्र नेपालमा स्थिरता र शान्ती-समृद्धी दिन सक्ने समेत तर्क गरेका छन् ।
प्रचण्डको उक्त कुराको व्याख्या र बचाऊ गर्दै कतिपय राजनेर्तिक वा कूटनीतिक क्षेत्रका आफूलाई बौद्धिक, प्राज्ञिक र विज्ञ-विशेषज्ञ ठान्ने र मिडियाहरुले पनि मानिदिने गरिएका मानिसहरुले भन्ने गरेको पाइन्छ :
“त्यो त प्रचण्डको भूपू र भावी प्रमको हैसियतमा बोल्दा प्रयोग गरिएको कूटनीतिक भाषा हो” । “नेका, जसपा र प्रचण्ड-माधव समूह नै अग्रगामी शक्तिहरु हुन्”; “दुवै छिमेकीसँग सम्बन्ध राम्रो बनाउने आवस्यकतालाई सम्बोधन गर्नको लागि त्यस्तो भन्नू स्वाभाविक र अत्यावश्यक छ” र “भारतसँगको सम्बन्ध विशिष्ट रहेको कुरा पनि सत्य नै हो” आदि इत्यादी तर्क, वितर्क र कुतर्क गरेर पनी प्रचण्डको पक्षमा वहस-पैरवी गरेको पाइन्छ । खासगरी प्रचण्डको उक्त कुरा सही र आवश्यक भएको हुनाले स्वीकार्नु पर्ने जस्ता कुराहरु बौद्धिक भनिने ब्यक्ती र वृत्तिबाट नै बढी आएका छन्, जो एक विडम्बना नै हो ! स्मरणीय छ, विगतमा भेनेजुयलाको बारेमा बोल्दा त्यो हैसियत र कूटनीतिक भाषा प्रचण्डले प्रयोग गरेका थिएनन् ! किन बिर्सेका थिए त प्रचण्डले त्यतिबेला त्यो कूटनीतिक भाषा र भूपू प्रधानमन्त्रीको हैसियत ?
फेरि, संसदमै भएका कम्युनिस्ट क्रान्तिकारी र देसभक्त अर्थात् देसलाइ सहज हुने तर भारतलाई त्यति सहज नहुनसक्ने तथापी नेपालको सदनमा निरन्तर उपस्थित भैरहेका र कहिले त सरकारमा समेत सहभागी भैसकेका पार्टी नेमकिपा र मसाल आदिलाई समावेस गर्ने कुरा किन नगरेका त प्रचण्डले ? दुवै छिमेकीसँग सम्बन्ध राम्रो गराउनु नै छ भने किन भारतसँगको सम्बन्धलाई विशिष्ट बताएर त्यसको व्याख्या गर्दै उसकै अनुकूलको सरकार बनाउने भनेका त ? अनि त्यो विशिष्ट सम्बन्ध भनेको के हो फेरि ? के त्यो विशेष सम्बन्ध भारतीय औपनिवेशिक सम्बन्ध नै होइन ? जो विगत लामो समयदेखी विवादित र विरोधाभासपूर्ण हुँदै आएको छ ! के त्यसै औपनिवेशिक सम्बन्धलाई संकेत गरेर त्यसलाई नै मान्यता दिन खोजेको हो प्रचण्डले ? हो भने यो त प्रचन्डको निर्वस्त्र, निर्लज्ज, निच, निम्छरो, निकृष्ट र निन्दनीय नीति, निर्णय, नियत र निर्देशनको पुष्टि हो ! यो त सीधा अर्थमा भारतीय विस्तारवादको दलाली र दासताको पराकाष्ठा हो । यदी त्यसो होइन भने किन त करिव त्यस्तै विशिष्ट सम्बन्ध भएको चीनसँगको सम्बन्धलाई विशिष्ट नभनेको ?
अझ भन्ने नै हो भने त चीनसँगको सम्बन्ध पो विशिष्ट छ त ! यो यस अर्थमा विशिष्ट छ कि ऊसँग नेपालको कुनै समस्या र विवाद छैन, बरु मित्रतै-मित्रता मात्र छ, सहयोगै-सहयोग मात्र छ ! नेपालमाथी कुनै हस्तक्षेप गरेर शोषण गरी आफ्नो स्वार्थपूर्ति चीनले गरेको छैन र भविष्यमा पनि त्यसो गर्ने नीति र नियत पनि चिनले राखेको देखिदैन ! हो, एउटा कुरा के हो भने भारतसँगको नेपालको सम्बन्ध नकारात्मक रुपले अर्थात् दुष्टतापूर्ण विशिष्ट सम्बन्ध छ भने चीनसँगको सम्बन्ध सकारात्मक रुपले अर्थात् मित्रतापूर्ण विशिष्ट छ ! यो अवस्थामा नेपालमाथी आफ्नो जन्मकालसँगै गिद्धे दृष्टिबाट हेर्दै र हदैसम्मको हुकुम, हैकम, हस्तक्षेप र हालीमुहाली गरेको दुष्ट भारतीय विस्तारवादका निम्ति कम्फर्टेबल हुनेगरी अर्थात् उसले नेपालमा अझ बढी शोषण, दमन र हस्तक्षेप गर्न पाउने गरी भारत र उसका एजेन्टहरुले एकछत्र राज गर्न पाउने गरी सरकार बनाउने भन्ने प्रचण्डको खुलासा कति घातक होला ? गम्भीर रुपले विचारणीय छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि सामन्तवाद र साम्राज्यवाद मुख्यत भारतीय विस्तारवादी शोषण, दमन र हस्तक्षेपबाट मुक्त स्वतन्त्र, स्वाधीन र समुन्नत समाजवादी नेपाल र नेपाली बनाउने लक्ष लिएको सरकार बनाउनको लागि सत्र हजारको बलिदान दिएर आएका प्रचण्ड र उनको गुटले के गर्न-गराउन खोजेको हो भारतको लागि कम्फर्टेबुल सरकार बनाएर ? प्रश्न गम्भीर छ । कतै सिक्किमै बनाउने त हैनन् ? आशङ्का गर्ने आधार प्रसस्त छन् ।
आफ्नो जन्मकालदेखि नै अपवाद बाहेक भारतको पालनपोषण र नीतिनिर्देशनमा हुर्किएको दलाल पुंजीवादी पार्टी नेपाली काङ्ग्रेस र भारतीय विस्तारवादी शासक वर्गले सुनियोजित रुपमै जन्माएको, पालेको, पढाएको, बढाएको र चलाएको मधेसकेन्दृत भ्रष्ट पुँजीवादी जनता समाजवादी पार्टी नामक भारतकै झट्केलो पार्टीलाई मात्र मिलाएर प्रचण्डले सरकार बनाउने भन्नू कहाँसम्मको नाङ्गो दुस्साहस हो ? हुन त आफू जनयुद्धकालभरी भारतकै छत्रछायाँ र मोहमायामा सुरक्षित र संरक्षित भएको ठानेकोले भारतकै अगाडि त्वंशरणम गरेर उस्कै नीति, निर्देशन, सद्भाव, समर्थन, सहयोग र सहभागितामा १२ बुँदेमार्फत आफूलाई भालुको कम्पारो बनेको जनयुद्ध समापन गराएकोले त्यसको गुण र रिण तिर्न त्यसो भनेका होलान् !?
त्यसो हो भने भारतीय विस्तारवादको सेवा, चाकरी, दासता र दलाली गर्ने सोंच र उद्देश्यसहित संसदीय सत्ताको २/२ पटकसम्म कार्यकारी प्रमुख भै अझै पनि त्यसैको सेरोफेरोमा रहेर चरम सत्तासुख-भोग गरिसकेका प्रचण्डबाट त्यस्तो सरकार बनाउने प्रयास हुनु कुनै आश्चर्य नभएको भन्नेहरु पनि छन् !
साथै हालसम्म नेपाली शासकहरुबाट भए-गरेका भारतीय स्वार्थहरुको भविष्यमा समेत संरक्षण र सम्बर्द्धन गर्ने प्रतिबद्धता स्वरुप, अथवा विगतमा आफूहरुबाट पनि हुन-गर्न र गराउन नसकेका भारतीय अपेक्षाहरुलाई यसपटक पूर्ण गराउनको लागि विश्वास दिलाउन भारतसँग विशेष सम्बन्ध र कम्फर्टेबुल सरकारको कुरा गरेका हुन सक्छन् प्रचन्डले भन्नेहतु पनि छन् ।
प्रचण्डको यो कुरा भारतीय विस्तारवादी शासकवर्गका लागि त खुसी, गर्व र गौरवकै विषय पनि होला तर स्वतन्त्र, स्वाभिमानी, स्वाधीन र सार्वभौम नेपाल र नेपालीको लागि यो जस्तो दुखद विडम्बना अरु के होला ? स्वयंमा स्पष्ट छ !
प्रचण्डको कम्फर्टेबल सरकारको यो कुरा उनको भारतमुखी अर्थात् वैदेसिक शक्तिकेन्द्रमुखी खासगरी युरो-अमेरिकन औपनिवेसिक शक्तिकेन्द्रामुखी दास मानसिकताको उपज हो भन्ने कुरा संसद पुनर्स्थापना गराउनको लागि विदेसीहरुसँग गरेको हारगुहारबाट समेत स्पष्ट रुपमा प्रमाणित हुन्छ ।
आफूलाई विश्वकै ठुला, पुराना र शक्तिशाली लोकतान्त्रिक देसहरुले लोकतन्त्रको निम्ति आफूहरुलाई सहयोग गर्नुपर्यो भनी प्रचण्ड गिड्गिडाएको त आखिर भारत, वेलायत र अमेरिका लगायतका विस्तारवादी र साम्राज्यवादी देसहरुलाई नेपाल सरकार अर्थात् आफ्नै पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार र आफ्नो स्वतन्त्र राष्ट्र नेपालमाथी हस्तक्षेप निम्त्याएको त हो !? लाग्छ, त्यतिबेलै प्रचण्डले भारतलगायतका उसका नयाँ-पुराना मालिक राष्ट्रहरु अमेरिका-बेलायतसँग संसद पुनर्स्थापना भएमा उनीहरुको स्वार्थ अनुकूल काम गर्ने सरकार नेपालमा बनाउने कबुल गर्दै किरिया समेत खाइसकेका थिए ! नभन्दै संसद पुनर्स्थापना भयो पनि ! अनि त भारतलगायतका साम्राज्यवादीहरुलाई कम्फर्टेबल हुने सरकार बनाउने भन्न उनलाई कर लाग्यो होला !?
जेहोस्, एउटा गजबको प्रश्न के छ भने प्रचण्ड आफ्नो मित्र वर्ग नेपाली शोषित-पीडित जनता, मित्र विचार राख्ने शक्ति मालेमावादी पार्टीहरु, मित्र व्यक्ति आफ्नै पार्टीका अध्यक्ष र नेताहरु तथा सच्चा मित्र देस छिमेकी चीनप्रती वस्तुतः किन कम्फर्टेबल हुन चाहदैनन् र साम्राज्यवादी र विस्तारवादी शक्तिकेन्द्रहरु सामू राष्ट्रिय आत्मसमर्पणवादको अनुशरण र अभास गर्छन् ? सायद १२ बुँदेप्रतिको वफादारिता र प्रतिबद्धता होला ! होइन भने कि त जनयुद्धकालीन मुद्दामा हेग जानुपर्ने डरले होला कि भने शान्तीकालमा भएगरेका भ्रष्टाचारका मुद्दामा जेल जानुपर्ने भयले होला अथवा सत्तामा पुराइदिएका वा पुराइदिने आश्वासनप्रती आश्वस्त र आभारी हुँदै उनीहरुको गुन र रिन तिर्नको लागि होला !
यिनै र यस्तै कारणले होला प्रचण्डको उपरोक्त शक्तिकेन्द्रहरुप्रतिको लगाव-झुकाव र माया-मोह र उनीहरुप्रती सफ्ट हुने कथित कम्फर्टेबल सरकार निर्माणको कुरा !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here