आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर

51

काठमाडौं । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “हामीले बजेटभित्र रहेर नै किसानको हक हितमा काम अगाडि बढाउने हो । कृषि क्षेत्रले २५ वर्षदेखि ३ प्रतिशतभन्दा बजेट पाएको छैन । अहिले जम्मा २.७ प्रतिशत बजेट पाएको छ । बजेट थोरै दिने अनि कसरी किसानको हित गर्ने ? १० प्रतिशत बजेट छुट्यायो भने मात्र ५ वर्षभित्र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन सकिन्छ ।”
मन्त्री यादवले कृषिमा आत्मनिर्भर बन्नका लागि बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने, चक्लाबन्दी गरेर सामूहिक खेतीको विकास गर्ने, जैविक मल उत्पादन गर्ने, सिँचाइको विकास गर्ने लगायतका कार्यक्रम ल्याइने बताए । उनले थपे, “५ वर्षमा आत्मनिर्भर बन्नका लागि समयसापेक्ष कृषि नीति ल्याउँछौं । प्लटबन्दी गरेर सामूहिक रुपमा हावापानी र माटो अनुसार मकै, धान लगायतका खेती गर्नु आवश्यक छ । केही बजेट पसिनाले माटो भिज्छ, तर सिँचाइ छैन । त्यसको समाधानतर्फ अगाडि बढ्यौ भने चाँडै परिवर्तन हुन्छ ।”
युवाहरुलाई विदेश जान रोकी बाँझो खेतमा कृषि गर्न प्रोत्साहित अनुदान दिने कार्यक्रम आउने पनि उनले बताए । मन्त्री यादवले भने, “अहिले हामी कुखुराको मासु र दूधमा आत्मनिर्भर छौं । १० हजार उच्च नश्लका गाई, भैसी ल्याउने हो भने दूग्ध निर्यात गर्न सक्छौं । अहिले किसानलाई सीधै पैसा दिने प्रावधान छैन । जसले उत्पादन गर्छ, उसैलाई अनुदान पुगोस् । अहिले वार्षिक एक अर्बको खुर्सानी बाहिरबाट आउँछ । के खुर्सानी रोप्न पनि अनुदान दिनुपर्छ ?” मलखाद, बीउबिजन, सिँचाइको समस्या चाँडै समाधान हुने उनले विश्वास व्यक्त गरे ।
अर्को प्रसंगमा उनले स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन हुने पनि बताए । जसपा नेता यादवले भने, “अहिले हाम्रो पार्टी गठबन्धनमा छ । सकेसम्म तालमेल गरेर जाने हो । हामीले स्थानीय पार्टीलाई सबै अधिकार दिएका छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here