पर्वतमा जिल्ला फुटबल संघ नै छैन् । त्यही जिल्लाका फुटबलमा औधी रुची राख्ने बासीन्दा हुन दिप्सन । अभिभावक संस्था नै नभएको यो ठाँउबाट यसरी छनाेटमा पर्ने कुरामा दिप्सनलाई विश्वास त थिएन् ।
तर उनले गरेकाे मेहनत आज विश्वास गर्नु पर्ने अवस्थामा आएकाे छ । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बुका ठूला फ्यान हुन् ।

फुच्चे उमेरका दिप्सनले उनै किरणका भिडियोहरु टेलिभिजनमा हेरेर अभ्यास गरेका थिए । किरणका भिडियाे हेर्दै अभ्यास गरेका किशाेरा अवस्थाका दिप्सन आज नेपाल पुलिसकाे एकेडेमीमा पूर्ण छात्रबृतिमा छानिएका हुन् ।
पैयुँ गाउँपालिकाको हुवास पर्वत सदरमुकाम कुस्माबाट झण्डै ५० किलोमिटर दक्षिणमा पर्छ। तर साे गाउँपालिकाको केन्द्रमा पर्ने झिलीमिली बजार पुग्न स्याङ्जा सदरमुकाम वालिङबाट १५ किलोमिटर मात्रै छ ।
साेही ठाउँकाे आर्थिक अभावमा गुज्रिरहेकाे दलित परिवारमा जन्मिएका दिप्सनकाे यात्रा एकाएक नेपाल पुलिसको फुटबल एकेडेमीसम्म पुगेकाे छ । हिलाेमा फुलेका दिप्सनलाई नेपाल पुलिसकाे एकेडेमीले टिपेर लगेकाे छ ।
साेही गाउँपालिका ७ भोर्लेबाट छोराहरुलाई शिक्षाका लागि बजार झरेको उनकाे परिवारका अभिभावक अर्थात उनका बुवा सुदनकुमार दमाई नेप्लेज नामक अनलाइन न्युज पाेर्टलकाे टिम त्यहाँ पुग्दा तीन दिन मात्र भएको रहेछ ।

उनी भारतमा गएर लुगा सिलाउने काम गर्ने रहेछन् । साे काम गरी कमाएको पैंसाबाट उनले आफ्ना परिवारलाई पालिरहेका रहेछन । आर्थिक अवस्था निकै कमजाेर भएकाे परिवारमा छाेराहरुकाे रुची तथा आवश्यकताहरुलाई पूरा गर्ने कुरा त परै जाओस्, आफु बस्दै आएकाे कोठा भाडासमेत तिर्न नसक्ने अवस्था छैन् ।
परिवारले जसोतसो गुजारा गरिरहेको छ । दुई वटा कोठा भाडामा लिएर बसिरहेको दिप्सनको परिवारसँग नेप्लेजका पत्रकारहरुले कुरा गर्दैगर्दा उनका गहभरी आँशु भए ।
दिप्सनलाई पुलिस एकेडेमीले लग्ने भए पनि अधिकांश समय भारतमै मजदुरी गर्ने बुवा सुदन छोराको सफलतामा विश्वासै गर्न सकिरहेका थिएनन् । उनी भन्दै थिए, “खै मलाई त अझै विश्वास छैन्, गरिबलाई कसले हेर्ला र ?”
पढाएर छाेरालाई जान्ने सुन्ने बनाउने दिप्सनकी आमा रेखा परियारकाे सपना थियाे, त्यसैले दिप्सनलाई फुटबलबाट टाढा राख्ने प्रयास उनकी आमाले गर्दै आएकी रहेछिन् ।
पढाइ विग्रिने र चोटपटक लाग्नसक्ने डरका कारण रेखाले दिप्सनलाई फुटबल खेल्नबाट धेरै राेक्न पनि खाेजिन् । तर दिप्सन आमाकाे राेकावटलाई छल्दै घर भन्दा केहि पर बगरमा रहेको मैदानमा फुटबल खेल्न हिँडिहाल्थे । छाेरालाई फुटबल खेल्न राेक्ने आमालाई अब भने उनकाे मेहनत देखेर पुलिस एकेडेमीले लगेपछि विश्वास लागिसकेकाे छ । तर, छोरोलाई टाढा राख्नु पर्दा उनको मन पाेलिरहेकाे छ । जुन कुरा उनको आँखाबाट खसेको आँशुले बताइरहेको थियो ।
सम्पत्ति भएर पनि विभागीय एकेडेमीमा पढाईसहित फुटबल सिक्ने चाहना पूरा नभएका धेरै छन् । तर दिप्सनले जुन मेहेनत बगरको मैदानमा गरेका थिए, त्यसले उनलाई नसोचेको स्थानमा ल्याएको छ । अहिले दिप्सन पुलिस एकेडेमीमा राम्रो प्रशिक्षणका साथ रमाई रहेका छन् ।

जुन परिवर्तन दिप्सनले किशोर अवस्थामा नै फुटबलको माध्यमबाट पाए । त्यसले उनको परिवारमात्र होइन, पुरै गाउँ नै अहिले गर्व गर्छ । तर दिप्सनलाई अगाडि बढाउनकाे लागि सहयाेग गर्ने एक अर्का पात्र पनि यहीँ छन् । ति हुन, अर्जुन भुसाल । अर्जुन सी डिभिजन लिगका खेलाडी समेत हुन् ।
जिल्ला फुटबल संघको मान्यता नपाएको र एउटा पनि राष्ट्रिय खेलाडी उत्पादन नभएको यो जिल्लामा अर्जुनले दिप्सनका लागि गजबकाे सहयाेग गरेका थिए । उनले दिप्सनमा खुबी देखेर आफ्नै किट दिएर उनलाई सहयाेगगर्ने गर्दथे । आज उनले गरेकाे त्याे सहयाेग पनि गर्व गर्न लायक भएकाे छ । नेप्लेजबाट

















