काठमाडौं । पाल्पाका किसान पछिल्लो समय च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिक रुपमा सिताके च्याउखेती थालेका छन् ।
व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बैंकमा बचत गर्न थालेका छन् ।


















