बलेफी हाइड्रोपावरले साधारण शेयरको निष्कासन गर्ने

96

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।

निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि शेयरको निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु. सात अर्ब ६५ करोड हुने जनाएको छ ।

निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here