विराटनगर । प्रदेश १ मन्त्रिपरिषद्को बैठकले नयाँ बर्ष वि.सं. २०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।
आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको बिदा सम्बन्धी प्रसताव स्वीकृत गरेको हो । प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भएबमोजिम उक्त बिदा दिइने निर्णय गरिएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकमा विभिन्न सात वटा विषयमा महत्वपूर्ण निर्णयहरू भएको घिमिरेले बताए ।
आन्तरिक मामिला मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाधारण रोग लागेका बिरामीलाई उपचार खर्चबापत हुने घिमिरेले बताए ।


















