काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि र स्थानीय तहलाई बलियो बनाउने संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन वैशाख ३० गते हुँदैछ । जनयुद्ध र जनान्दोलनबाट प्राप्त उपलब्धिको रुपमा रहेको यो स्थानीय तहलाई थप बलियो र सुदृढ बनाउन निर्वाचनमा वलिदानीपूर्ण संघर्षको नेतृत्व गरेको माओवादी केन्द्रले जसको नीति उसकै नेतृत्व भन्दै यसलाई आफ्नो पक्षमा ल्याउन जनतामा अपील जारी गरेको छ ।
माओवादी केन्द्रले निर्वाचनको घोषणापत्र लेखनका लागि स्थानीय तहको विशेषतालाई जोड्न निर्देशन दिँदै केन्द्रले केही नीतिगत निर्देशन दिएको छ । राष्ट्रिय स्वाधीनताको पहरेदार माओवादी भन्ने कुरालाई पुष्टि गर्ने गरी केही तथ्य र तर्क प्रस्तुत गरेको छ । यसले भूमण्डलीकरण पुँजीवादको रुपमा विकसित हुँदै गएको वित्तीय एकाधिकार पुँजीवादले वित्तीय संस्था र वहुराष्ट्रिय नियममार्फत विश्व बजारमा आफ्नो बर्चस्व स्थापित गर्न नवऔपनिवेशिक प्रणालीलाई थप सुदृढ गर्दै जाने नीति अवलक्बन गर्दै आएको, तेस्रो मुलुक स्वाधीनताको प्रश्न दलाल पूँजीवादका कारण समस्या पारेको, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र र समाजवादलाई यसले अवरोध पुर्याइरहेको, स्वाधीनताको पक्षको लडाईंमा दलाल र आत्मसमर्पणवाद र संकीर्ण अन्धराष्ट्रवादी दृष्टिकोण समस्याको रुपमा रहेको विषयलाई माओवादी केन्द्रले बताएको छ ।
उसले गाउँ नगर स्थानीय सरकार–जनयुद्ध र जनआन्दोलनको नयाँ उपहार, जनक्रान्तिका उपलब्धिहरुको रक्षा र प्रतिगमन विरोधी आन्दोलन, परिवर्तनको संवाहक शक्ति नेकपा (माओवादी केन्द्र), नीति र नेतृत्वको अन्तरविरोध : समस्याको मूल कडी, नयाँ नेपालको रणनीतिक मार्गचित्र, समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व, स्थानीय तहको पहिलो कार्यकाल र महत्वपूर्ण सन्देश लगायत विषयलाई पार्टीले मार्गदर्शन गरेको छ ।
माओवादी केन्द्रले आफ्नो प्राथमिकता/प्रतिबद्धतामा समाजवाद उन्मुख समृद्धि : आर्थिक विकास र सामाजिक न्यायको अभिवृद्धि, एक पालिका एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचानलाई स्पष्ट पारेको छ ।
यो पार्टीले अर्थतन्त्रको प्रमुख आधार : कृषिमा आमूल सुधार, उद्यमशीलताको विकास–रोजगारीको विस्तार, टोलटोलमा सहकारी–घरघरमा रोजगारी, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, निशुल्क र गुणस्तरीय विद्यालय शिक्षा, वातावरण मैत्री पूर्वाधार, दीगो विकासको आधार लगायत मुद्दालाई कार्यान्वयनका लागि पनि आफ्ना, आफ्नो गठबन्धनका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा जिताउन उसले आग्रह गरेको छ ।

















