काठमाडौं । नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा भएको छ।
अहिलेसम्म प्रतिव्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अबदेखि यो सीमा बढेर एक लाख डलरसम्म पठाउन मिल्ने व्यवस्था छ। प्रतिकारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ।
पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ। जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।
‘तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ। जसअन्तर्गत रकम पठाएको केही मिनेटमै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ’, हाम्रो पात्रोको संस्थापक/ सीईओ शंकर उप्रेतीले भने।


















