नेपाल प्रहरीमा अख्तियारको १६ पन्ने आतंक !

102

केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्पmत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राई अहिले प्रहरी बृतमा लोकमानसिंह कार्की भन्दा खतरनाक पात्रको रुपमा चर्चित भएका छ । प्रमुख आयुक्त राईको नेतृत्वको अख्तियारले प्रहरीका उच्च अधिकारीलाई धमाधम १६ पन्ने फारम भराउन थालेको छ । प्रहरी अधिकारीहरु विरुद्ध पदमा बसेर अकूत सम्पत्ति कमाएको भन्ने बेनामी उजुरीहरु  परेपछि अख्तियारले प्रहरीका उच्च पदस्थलगायत आरोपितहरुलाई १६ पन्ने फारम भराएर अनुसन्धान प्रक्रिया अघि बढाएको थाहा भएको छ ।

स्रोतका अनुसार अख्तियारले बहालवाला डीआईजी वसन्त लामालाई समेत १६ पन्ने फारम भराएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवाको समय निकट आइरहेका बेला लामालाई १६ पन्ने फारम  भराउनुले उनको प्रमोसनमा अवरोध खडा गर्ने नियत देखिएको छ । १६ पन्ने फारम भर्ने क्रममा लामाले आफ्नो बैंक खातामा जम्मा भएको काठमाडौं उपत्यकाकै घरजग्गा बेचेवापत आएको रकम भनेर स्रोत खुलाएको बुझिएको छ । घरजग्गा बेचेवापतको रकम खातामा जम्मा भएको चाल पाएर उनलाई बढुवामा अवरोध गर्नको लागि यो चाल चालिएको आशंका प्रहरी बृत्तमा गरिएको छ ।

लामा मात्रै होइन प्रहरीका डीएसपी र एसपीहरुले समेत १६ पन्ने फारम भरेका छन् । एसपी योगबहादुर पाललाई पनि अख्तियारले केही समयअघि मात्रै १६ पन्ने फारम भराएको थाहा भएको छ । पाल राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका हुन् । त्यसैगरी, अख्तियारले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी सुधीरराज शाहीलाई समेत १६ पन्ने फारम भराएको बुझिएको छ । शाहीको १६ पन्नेको साइनो भने काठमाडौंमा भएको प्रर्दशनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि दमन गरेको भन्ने आधार लिइएको चर्चा प्रहरी बृत्तमै सुनियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायत सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्ने गरेको फैसलाविरुद्ध समेत प्रर्दशनमा उत्रिएका एमाले कार्यकर्तामाथि डीएसपी शाहीको टोलीले दमन गरेको भन्दै त्यसैको प्रतिशोध साँध्न १६ पन्ने फारम भराइएको  आरोप पनि उनीमाथि लगाइएको हुन सक्ने प्रहरी बृत्तमा चर्चा छ । प्रदर्शनमा डीएसपी शाहीको टोलीले हस्तक्षेप गरेको भन्दै त्यसको केही दिनभित्रै अख्तियारले शाहीलाई उजुरी परेको भन्दै १६ पन्ने फारम भर्न बोलाएको शाहीले निकटहरुबीच भन्ने गरेको चर्चा पनि प्रहरी बृत्तमा चलेको सुनियो ।

प्रदेश २ को तराईको जिल्ला धनुषाका एसपी वसन्त रजौरेलाई पनि अख्तियारले १६ पन्ने फारम भराएको बुझिएको छ । नाम उल्लेख नगरि अख्तियारमा परेको उजुरीका आधारमा रजौरेलाई १६ पन्ने फारम भराइएको छ ।

लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा १३ पन्ने फारम भराउने गरिएको थियो । त्यसलाई नवीन घिमिरे अख्तियार प्रमुख भएको बेला १६ पन्ने बनाइएको हो । १६ पन्ने बनाउने क्रममा सम्पादकसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त घिमिरेले  इन्टेलिजेन्स समूहले गरेको अनुसन्धानका क्रममा अकूत सम्पत्ति आर्जन गरेका तथ्यहरू भेटिएमा मात्रै १६ पन्ने विवरण भराइने जानकारी गराएका थिए । तर अहिले भइरहेको १६ पन्ने फारम भराउने अभियानले प्रहरी बृत्तमा आतंक नै मच्चिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले अकूत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गर्नका लागि अख्तियारले १६ पन्ने फारम भराउँदै आएको छ । यो फारममा व्यक्तिको सम्पत्ति विवरण, सम्पूर्ण आयव्ययको विवरण भर्नुपर्ने हुन्छ । आफ्नो परिवारको सम्पत्ति, सम्पत्तिको स्रोत, श्रीमान÷श्रीमतीदेखि छोराछोरीलगायत सबैको शिक्षा स्वास्थ्य, रोजगार÷बेरोजगार, आम्दानीको स्रोत खर्च लगायत भर्नुपर्ने प्रावधान राखिएको छ । यसमा सम्पत्तिको स्रोत देखाउन सकिएन भने भ्रष्टाचार गरेको ठहर अख्तियारले गर्ने गरेको छ ।

१६ पन्ने विवरण भरेपछि उनीहरुमाथि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाउँछ । १६ पन्ने फारममा भरेको विवरण अनुसार आयव्यय मिलेको छ÷छैन ? आम्दानी भन्दा खर्च बढी छ÷छैन ? आम्दानीको स्रोत देखाउन सकेको छ ÷ छैन ? आदि प्रश्नको उत्तर अख्तियारले खोजेर दोषी देखिने ठाउँ भए कारबाही प्रक्रिया अघि बढाउने गरेको छ । अख्तियारले थालनी गरेको यो अभियानले प्रहरी बृत्तमा खैलाबैला मच्चिनु स्वाभाविक हो । प्रहरी निकाय बिगत कालमा पनि सबैभन्दा भ्रष्ट निकायका रुपमा चर्चित भइसकेको छ । प्रहरीका उच्चपदासिन व्यक्तिहरु (आइजिपिहरु) समेत भ्रष्टाचारमा आरोपित भई जेल सजाय समेत भोगिसकेका छन् ।

तल्लो तहमा काम गर्ने प्रहरीहरुले पाउने सुविधा समेत कटौती गरेर त्यसैबाट भ्रष्टाचार हुने गरेको  घटनाहरुबाट पुष्टि भइरहेको देखिन्छ ।  खासगरी खाद्यान्न, लत्ताकपडा,  जुत्ता लगायतका सामाग्रीहरु  आपूर्ति गर्ने काममा ठेकेदारहरुसँग उच्चपदासिनहरुले मिलोमतो गरी निजी लाभ प्राप्त गर्ने काम नै प्रहरी बृत्तमा हुने भ्रष्टाचारको डरलाग्दो रोग बनेको छ । नेपाल प्रहरीको मात्र होइन, संशस्त्र प्रहरी बल तर्पm पनि यो रोगले जरा गाडेको छ । सरकारका धेरै जसो निकायहरुमा ठेक्कापट्टाबाटै भ्रष्टाचार हुने गरेको छ । कुनै पनि सरकारी निकाय  भ्रष्टाचारबाट मुक्त छन् भन्न सकिने अवस्था छैन । तर अख्तियारले प्रहरी निकायमा सामान्य उजूरीकै भरमा मच्चाएको आतंकले भ्रष्ट प्रहरीहरु सम्पत्तिको स्रोत जुटाउनतर्पm लागेका पनि पाइएका छन् । अख्तियारको ध्यान यतातिर जाला ? -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here