वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षपछि नयाँ कक्ष सञ्चालनमा

131

काठमाडाैं । धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शय्याको कक्षलाई विस्तार गरी हिजाेदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।

हिजाे प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले कक्षको उद्घाटन गर्नुभएकाे हाे। उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । बीस शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहजरुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुडामणि पोखरेलको भनाइ छ ।

अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेसिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलाइसिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको २३ वर्ष भइसकेको छ ।

सन् १९९९ मा तत्कालीन उपकुलपति डा शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको थियो । दुई शय्याबाट सुरु गरिएको याे सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा सञ्जीवकुमार शर्माले त्यही अस्पालबाट आफैँले घर बसेर गर्ने सीएपीडी प्रविधिको डायलाइसिस सेवाको सुरुवात गर्नुभएको थियो ।

सन् २००२ देखि प्रतिष्ठानमा सुरु भएको यो विधि पाँच वर्षसम्म अरु कुनै अस्तालमा हुन सकेको थिएन । सन् २००४ मा डा शर्माकै पहलमा बेलायतमा रहेकाे रोयल लण्डन अस्पतालबाट ११ थान डायलाइसिस मेसिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलाइसिस युनिटको स्थापना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here