काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको जनाएका छन् ।
बिहीवार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले नेपालमा सेफहरु मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पुर्याउन नसकिएको जनाए ।
‘यसमा अहिले व्यवस्थापनको समस्या छ । सेफ उत्पादन मनग्य भएको छ । तर काठमाडौंमा सबै केन्द्रित हुनुहुन्छ । काठमाडौं भन्दा बाहिर पनि धेरै ठाउँमा पाँचतारे होटल बनेका छन् । तर मान्छेहरु जानुहुन्न ।’ वरिष्ठ उपाध्यक्ष साहले भने, ‘अर्को कुरा जुन नेपालमा चेन होटलहरु छन्, उहाँहरुको कन्ट्याक्टमा नै सेफलाई निश्चित ठाउँबाट आउने भनिएको हुन्छ । त्यसले गर्दा व्यवस्थापन समस्या हो आपूर्ति समस्या होइन । अर्को कुरा जति पनि सिद्धहस्त सेफहरु हुनुहुन्छ उहाँहरुको रोजाइ विदेश हुन्छ । नेपालमा ग्यास्ट्रोनोमी टुरिजम (खाना पर्यटन) को सम्भावना व्यापक छ ।’
त्यस्तै सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।
‘हामीले नेपाली खानालाई देश तथा विदेशमा पुर्याउने भन्ने योजनाका साथ हामीले विभिन्न भाषा, भेषभुषा, कल्चरसहितका खानाहरु पस्किरहेका छौँ, हामी जतिपनि सेफ सोसाइटीमा बसेर सेफ सोसाइटीले जे जस्तो गरिरहेको छ, यसमा सरकारले पनि ध्यान जाओस् भन्ने हाम्रो माग हो ।’ अध्यक्ष लामाले भने, ‘नेपाल सरकारको तर्फबाट पनि सेफहरु सबैमा सरकारले बजेट छुट्याएर हामलिे सातै प्रदेशमा ७७ जिल्लामा हामीलाई नेपाली खानाहरुको बारेमा, नेपाली खानाको हक हीतको बारेमा सहयोग गर्ने हो भने हामी अघि बढ्न सक्छौँ ।’
सेफ्स एशोसिएशन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८औँ वार्षिकोत्सव मनाइरहेको छ ।