रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी

78

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला घटनाले यस्तै देखाउँछ ।

पछिल्लो सात महिनायता अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै २१.५२२ केजी सुन बरामद भएको छ । जसको बजारमूल्य एक अर्ब ७३ करोड ६८ लाख ९९ हजार ५१ रुपैयाँ हुन्छ । प्रहरीका अनुसार पछिल्ला दिनमा तस्करले तस्करीका लागि अनौठा–अनौठा तरिका अपनाउने गरेका छन् ।

तस्करीका लागि धेरै प्रयोगमा ल्याइएको तरिका क्याप्सुल हो । गत २९ मंसिरमा दुबईबाट काठमाडौं आएका ३२ वर्षीय भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेखलाई प्रहरीले सुनसहित पक्राउ गर्‍यो । उनले क्याप्सुल बनाएर दुबईदेखि सुन ल्याएका थिए । अर्धतरल र धुलोमा बदलेर पनि तस्कर हुने गरेको छ ।

दुबईबाटै गत २९ माघमा काठमाडौं आएका चिनियाँ नागरिक झाङ लीलाई प्रहरीले ४.८४० केजी सुनसहित पक्राउ गर्‍यो । उनले धुलो र अर्धतरल बनाएर सुन ल्याएका थिए । अन्डरवेयरभित्र फल्स बटम बनाई ल्याइएको सुनलाई प्रहरीको मेटल डिटेक्टरले समेत पहिचान गर्न सकेको थिएन । उनलाई आगमन कक्षबाहिर पक्राउ गरिएको थियो ।

त्यसबाहेक तार र गहनामा परिणत गरेर पनि सुन तस्करी गर्ने गरिएको छ । गत १३ फागुनमा एक किलो एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका ३४ वर्षीय कमल घिमिरेले सोही तरिका अपनाएका थिए । उनले ज्याकेटभित्र स–सानो खल्ती बनाई दुबइबाट सुन ल्याएका थिए । उनलाई भन्सारमा सघाउने काम भने बिमानस्थलस्थित अध्यागमन कार्यालयका नायव सुब्बा लक्ष्मण गुरागाईले गरेका थिए ।

बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले सुन तस्करीका लागि तस्करले अनेक तरिका अपनाउने गरेको बताए । उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका छौं । तैपनि तस्कररूले अनेक तरिका अपनाएर तस्करी गरिरहेका छन् । कोही क्याप्सुल बनाएर ल्याउँछन् । कसैले अर्ध तरल बनाउँछन । धुलो बनाएर पनि तस्करी हुने गरेको भेटिएको छ । त्यसबाहेक गहना बनाएर ल्याउने पनि धेरै छन् ।’

पाँच बर्षमा चार सय सात किलो सुन बरामद
आर्थिक बर्ष ०७३/७४ देखि ०७७/७८ सम्मको पाँच बर्षको अवधिमा प्रहरीले तस्करी हुँदै गरेको करिब चार सय सात किलो सुन बरामत गरेको छ । प्रहरीको तथ्यांकअनुसार ०७७/७८ मा ३७ किलो नौ सय ९७ ग्राम, ०७६/७७ मा ३३ किलो सात सय ५३ ग्राम, ०७५/७६ मा ६० किलो चाठ सय पाँच ग्राम र ०७४/७५ मा दुई सय आठ किलो नौ सय ६९ ग्राम सुन बरामद भएको छ । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here