नेपालका प्रधान सेनापति अमेरिका जानुअघि अमेरिकी जर्नेल नेपाल आउने, प्रम देउवा पनि अमेरिका जाने !
काठमाण्डौ / एमसीसी सम्झौताले नेपाललाई कसरी बाँधेको रहेछ भन्ने स्पष्ट हुँदै गरेको छ । यसका प्रभावहरु देखिन थालेका छन् नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाने तयारी भैरहेको छ । अमेरिकाका जर्नेल यता आउने तयारी पनि भैरहेको छ । हुन त शर्माको यो दोस्रो विदेश भ्रमण हो । सेनापति शर्मा यसअघि भारतको औपचारिक भ्रमणका क्रममा नयां दिल्ली पुगेका थिए ।
सैनिक जनसम्पर्क निर्देशनालयले प्रधानसेनापति शर्मा आगामी असार ४ देख १० सम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनिफिल मिसन र सिरियास्थित अनडफ मिसनको निरीक्षण भ्रमणमा जान लागेको जनाएको छ । त्यतैबाट अमेरिका जाने उहाँको कार्यक्रम तय भएको छ । सरकारले सेनापतिको बिदेश भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ ।
सेनाले जनाए अनुसार द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधान सेनापतिको भ्रमण हुन लागेको हो ।
सैनिक उच्च स्रोतले गराएको जानकारी अनुसार प्रधानसेनापति शर्मा त्यहाँबाटै अमेरिकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । शर्माले असार १३ देखि १७ सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने र अमेरिकी उच्च अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । शर्माले अमेरिकी रक्षामन्त्रालयका उच्च अधिकारी र आफ्ना समकक्षीसंग भेटवार्ता गर्नुका साथै द्धिपक्षिय सैनिक सहयोगका विषयमा समेत छलफल गर्नेछन् ।
शर्माको भ्रमणका क्रममा सैनिक सहकार्य, संयुक्त सैन्य अभ्यास र स्टेट पार्टनरसिप प्रोगाम, एम १६ हतियार खरिदलगायतका विषय एजेण्डामा छन् । अमेरिकी सेना र नेपाली सेनाबीच द्धिपक्षीय सैनिक सम्बन्ध मजबूत हुंदै गएको छ । अमेरिकाले नेपाली सेनालाई तालिम, हतियार र विपद व्यवस्थापनमा सहयोग गर्दै आएको सैनिक स्रोतले जनाएको छ ।
प्रधानसेनापतिको भ्रमणलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा समेत अमेरिकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भएको थाहा भएको छ । त्यसअघि नै अमेरिकी सेनाका आईपीएसप्रमुख (इण्डो प्यासेफिक कमाण्डका कमाण्डर) जर्नेल नेपाल आउने निश्चित भएको छ । प्रधानसेनापति शर्माको अमेरिका भ्रमणअघि नै अमेरिकी सेनाका आईपीएस कमाण्डर एडमिरल जोन सी.अक्वीलिनो नेपाल भ्रमणमा आउने भएका हुन् । उनि अमेरिकी सेनाको शक्तिशाली जर्नेल रहेको जनाईएको छ ।
अमेरिकी सेनाको प्यासेफिक कमाण्डले एसियाका नेपाल, भारत,पाकिस्तान, फिलिपिन्स र अष्ट्रेलिया र पपुवा न्युगिनीलगायतका देश हेर्ने भएकाले उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी संसदबाट पारित भएसंगै अमेरिकाबाट एकपछी अर्को उच्चस्तरिय भ्रमणहरु भइरहेका छन् ।
नेपाली सेनाले उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको जनाएको छ । स्मरणीय छ, काठमाण्डौ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले सपथ लिए लगत्तै सैनिक मुख्यालयमा पुगेर प्रधान सेनापति शर्मालाई भेटेका थिए । जनधारणा साप्ताहिकबाट

















