प्रम देउवाद्वारा नेकपा (एस) पार्टीकाे मन्त्री फेर्न प्रस्ताव अस्वीकार

82

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् ।

 बजेटको विषयमा संसद्‍मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । यस्तै उनीहरुले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष माधव नेपाललाई सम्झाइदिन दबाब दिएका थिए ।

त्यसपछि सोमबार बिहान यस विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए । बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो ।

त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच कुराकानी भएको थियो ।

उक्त कुराकानीमा नेपालको आग्रहमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएका थिए । त्यसपछि नेपालले पार्टीको सचिवालय बैठकबाट बहालवाला मन्त्री फिर्ता बोलाई नयाँ पठाउने निर्णय गरेका थिए । त्यसका लागि चारजनाको नाम र मन्त्रालय समेत तोकेर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here